तपाईँ सुन्दै हुनुहुन्छः

कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै, सतर्कता अपनाउन जरुरी

काठमाडौँ । वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुई हप्ता घरमै आराम गरेर निको भए पनि उहाँलाई हल्का खोकी अझै लागिरहेको छ । 

भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लुएन्जा) कडा महसुस गर्नुभयो । उहाँले लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपरेको सुनाउनुभयो । “खोकी एकदमै लामो समयसम्म लागिरहेको छ । एक हप्ता टाउको उठाउनै सकिन । जीउ आलस्य र एकदमै कमजोर भएको छ”, खड्काले भन्नुभयो । 

उहाँहरू मात्रै होइन यस पटक धेरैजसोले यस्तै समस्याको सामना गर्नुपरेको गुनासो गरिरहेका छन् । छाती तथा दम रोग विशेषज्ञ डा नवीनकुमार मिश्राले पनि फ्लू लाग्ने सिजन सकिसक्दा पनि लामो लक्षणसहितको फ्लू देखापरिरहेको  बताउनुभयो । सामान्यतया: नेपालमा जनवरी–मार्च महिना र जुलाई–सेप्टेम्बर महिनामा फ्लू बढी देखिने भए पनि यसपटक निकै लम्बिएको उहाँले सुनाउनुभयो । 

डा मिश्राका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा आफैँ हराएर जाने तर केहीलाई भने जटिल समस्या निम्त्याउन सक्छ । मौसम परिवर्तन भएसँगै फ्लूका बिरामी देखिन थालेका छन् । धेरैमा कडा लक्षण देखिएको छ । विशेषगरी लामो समयसम्म खोकी लाग्ने समस्या देखिएको छ । यसमा अचानक ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, अस्वस्थ महसुस हुनु, घाँटी दुख्नु, नाक बग्नु आदि लक्षण देखा पर्न सक्छन् । फ्लूमा खोकी गम्भीर हुनसक्छ र दुई हप्ता वा सोभन्दा बढी पनि रहन सक्छ ।

यसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको सङ्क्रमण)सँगै अन्य सङ्क्रमणको खतरासमेत हुने सम्भावना सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताउनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक उहाँले हाल धेरैले लामो समयसम्म खोकी लागिराख्ने समस्या लिएर आउने बिरामी बढिरहेको बताउनुभयो । पुनले भन्नुभयो,“फ्लूले धेरै लामो समयसम्म दुःख दिने गर्छ । सामान्यतया: हप्ता वा १० दिनसम्म निको हुने फ्लू हाल थप केही हप्तासम्म लम्बिएको देखिन्छ । हप्तौँसम्म लम्बिने खोकीलाई ‘पोस्ट भाइरल कफ’ भनिन्छ ।”

उहाँले कोभिडमा देखिएको गन्ध र स्वाद थाहा नपाउने लक्षण यो फ्लूमा पनि देखिएको भन्दै कोभिडका ‘सव–भेरियन्ट’ पनि हुनसक्ने आँकलन गर्न सकिने बताउनुभयो । सङ्क्रामक रोग विशेषज्ञ डा पुनले मौसम परिवर्तन र वायु प्रदूषणले पनि फ्लूको जोखिम बढाएको बताउनुभयो ।

“हाल हङकङ फ्लू देखिएको छ । जोखिम वर्गमा पर्ने बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी बढी जोखिममा हुन्छन् । चिकित्सकको परामर्शमा रहने र गम्भीर अवस्था देखिएमा निमोनिया हुनसक्ने भएकाले थप सतर्कता अपनाउन आवश्यक छ”, उहाँ भन्नुहुन्छ,“मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सङ्क्रमित व्यक्तिबाट सजग रहने, सङ्क्रमण देखिएमा पर्याप्त मात्रामा आराम गर्ने गर्नुपर्दछ । फ्लूविरुद्ध खोप लगाउनु राम्रो हुन्छ ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) काअनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारीमा भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन् । डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका कारण ३० लाखदेखि ५० लाख ‘केस’ पहिचान हुने गरेका छन् । तीमध्ये दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासमा जटिलता आएर मृत्यु हुने तथ्याङ्कले देखाउँछन् । 

खोपले शतप्रतिशत सुरक्षा नदिए पनि जटिलता र अस्पताल भर्ना हुनबाट जोगाउन सहयोग गर्छ । चिकित्सकहरूका अनुसार इन्फ्लुएन्जाका लक्षण सामान्यतया भाइरस भएको व्यक्तिबाट सङ्क्रमित भएको दुई दिनपछि सुरु हुन्छ । उच्च जोखिममा रहेका व्यक्तिमा गम्भीर समस्या, अस्पताल भर्ना र मृत्युसमेत हुनसक्छ । 

काठमाडौँ मेडिकल कलेज श्वासप्रश्वास रोग विभागीय प्रमुखसमेत रहेका डा मिश्राले दम भएका बिरामी, पाँच वर्षमुनिका बालबच्चा र ६० वर्ष माथिका व्यक्ति, रोगसँग लड्नसक्ने क्षमता कम भएकाहरूमा फ्लूको जोखिम रहने बताउनुभयो । उहाँ भन्नुहुन्छ,“लक्षण बिग्रिँदै गइरहेको छ, अक्सिजनमा कमी आएको छ भने  तत्काल चिकित्सकलाई भेट्नुपर्छ । लक्षण सामान्य देखिएका छन् भने आराम गरेर निको हुन्छ । आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त खाने गर्नुपर्छ । धेरैजसो आफैँ हराएर जान्छ ।” 

जटिलता निम्तिएको खण्डमा निमोनिया, मुटुको चालमा गडबडी, रगतमा सङ्क्रमणसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button