किसानमा छाएन श्रमिक पर्वको उमङ्ग
महोत्तरी।यसपाली यहाँका किसानलाई वसन्त उत्सवको उमङ्ग छाएको छैन । प्राचीन मिथिलाञ्चलसहित मधेसमा वसन्तपञ्चमीका दिन वर्षभरि कृषि कार्य गर्नेले श्रमिक पुज्ने परम्परा रहेको छ । यस वर्ष यहाँका किसानले आगामी वर्षका लागि वरपर श्रमिक नपाएपछि यो पर्व मनाउन पाएनन् । किसानका लागि पर्वको सबैभन्दा महत्वपूर्ण पक्ष मानिने श्रमिक पूजन गर्न नपाएपछि यहाँका किसान निराश भएका छन् ।
‘पैछला कतेक दिन स जनके खोजी करैत आयल छी, मुदा अहुबेर अई सालक वसन्तपञ्चमीमें पुजवाला जन नई भेटल’ (कति दिनदेखि श्रमिक खोजेँ, तर यसपटक वसन्तपञ्चमीमा पुज्न श्रमिक भेटिएनन्) भङ्गाहा–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारुले भन्नुभयो, “आब बुझायल जे खेतीपातीके काज नइ कर सकब” (अब बुझ्दैछु, खेतीपातीका काम गर्न सकिन्न) ।”
बर्दिबास–७ का ७५ वर्षीय रामउदगार महतोले पनि श्रमिक पुज्न नपाएपछि कृषिउपज प्रशस्त उत्पादन नहुने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । पछिल्ला १० वर्षयता नियमित रूपले श्रमिक पुज्न नपाउँदा वसन्तपञ्चमी पर्व आएको महसुस हुन छोडेको उहाँले बताउनुभयो ।
“बस्ती वरपर कोही जन (श्रमिक) पाइन्छन् कि भनेर खोजी गरियो, तर भेटिएनन्”, महतोले उदास हुँदै भन्नुभयो, “किसानका लागि पर्वको रौनक नै हरायो ।” मिथिलामा किसानका लागि मुख्य उत्सवको पाटो श्रमिक पूजन हुने हुँदा त्यो अवसर नपाएपछि पर्व निराश बनेको किसान बताउँछन् ।
मधेसको प्राचीन मिथिला क्षेत्रमा आउने वर्षभरिको कृषि कार्य (हलो÷कोदालो चलाउने, गाईभैँसी चराउने, घाँसपात गर्नेसहितका काम) का लागि वसन्तपञ्चमीका दिन श्रमिकको टुङ्गो गर्ने चलन छ । यसरी टुङ्गो लगाएपछि ती श्रमिकलाई घरमा बोलाएर मिष्ठान्न परिकार खुवाउने, बस्त्र, दक्षिणालगायत सामग्री दिने चलन रहेको महतोले जानकारी दिनुभयो । “यस चलनलाई ‘जन पुज्ने’ भनिन्छ । तर गाउँ, बस्तीमा कृषि श्रमिक पाउनै छाडेपछि यहाँ यो पर्वको परम्परा हराउँदै गएको छ”, उहाँले भन्नुभयो ।
माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । यस दिन टुङ्गो लगाइएका श्रमिकका साथमा कैयौँ परिकार बनाएर खाइने मैथिल परम्परा रहेकामा पछिल्लो समय लोप हुँदै गएको भङ्गाहा–४ का किसान हरिदेव साहले बताउनुभयो । “आफ्नो बस्तीमात्र नभएर छिमेकका गाउँटोलमा पनि कोही भेटिएनन्”, उहाँले भन्नुभयो, “जन नपाएर पुज्ने विधिसम्म पनि गर्न नपाएपछि हामीलाई पर्वको उल्लास आएन ।”
श्रीपञ्चमी पर्व किसानका लागि एक वर्षसम्म काम गर्ने श्रमिकको वरण गर्ने मिथिला क्षेत्रको महत्वपूर्ण पर्व हो । श्रमिकलाई खुसी पार्न नयाँ लुगा, मिष्ठान्न परिकारका खाना र दक्षिणा दिएर किसानले पर्व मनाउने गर्दछन् । पर्वको मुख्य पाटो श्रमिक नपाएपछि किसान निराश भएका हुन् । गाउँबस्तीका कृषि कार्यको जनशक्ति कमाउन भारतको हरियाणा, पञ्जाव गएपछि यहाँ जनको अभाव भएको महतोले बताउनुभयो ।
मधेसमा मुसहर, बाँतर जाति समुदाय कृषिका लागि दक्ष मानिन्छन् । यी समुदायले कृषि उत्पादनका लागि मजदुरी गरेर प्राप्त पारिश्रमिकबाट जीविकोपार्जन गर्दै आएकामा पछिल्लो समय रोजगारीका लागि भारतसहित अन्य मुलुक जान थालेपछि टोलबस्तीमा वृद्धवृद्धा, महिला र ससाना बालबालिकाहरू मात्र देखिन्छन् ।
मुसहर, बाँतर समुदायका युवा कमाउन भारतसहित अन्यत्र गएपछि यहाँ कृषि जनशक्तिको अभाव भएको औरही–७ का श्यामसुन्दर यादवले बताउनुभयो । खोज्दा जन नपाएपछि आपूmले पछिल्ला दुई÷तीन वर्षदेखि यो पर्व मनाउन छोडेको उहाँको भनाइ छ ।
पर्वमा श्रमिक पुज्न नपाएपछि किसानलाई खेती गर्न नसकिने चिन्ताले पिरोलेको छ । किसानका छोराछोरी लेखपढ गर्ने र विदेश जाने मनसुवा राख्छन् । किसानकै घरको नयाँ पुस्ता पनि खेतीमा लाग्ने सोचमा देखिदैँनन् । “घरका छोरा हामी लेखपढ भएका हलो जोतेर बस्दैनौँ भनेर कोही जागिरमा कोही सात समुद्र पारी विदेश उडे, यहाँ काम गर्ने जन पाइन छाडियो”, रामगोपालपुर–२ का गणेशप्रसाद यादवले भन्नुभयो, “जनशक्ति नभएपछि अब खेती गरेर खाउँला भन्ने आशा नै हरायो ।” पछिल्लो एक दशकयता गाउँ, बस्तीबाट कामकाजी उमेरका युवा रोजगारीका लागि विदेश जान थालेपछि खेतीपातीको काम प्रभावित हुँदै आएको किसानको भनाइ छ ।
कृषि कार्य गर्ने श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी बाँझै बस्न थालेका भङ्गाहा–३ की रामराजी यादवले बताउनुभयो । “यस पर्वमा कृषि श्रमिकसँगै कृषि ज्यावल बनाउने, मर्मत गर्ने लोहार (हँसिया, कचिया बनाउने, उध्याउने, हलो, कोदालो फाली पिट्ने कामका खास जाति समुदाय) पनि वर्षभरिलाई पुज्ने चलन छ । यो समुदायका युवा पनि विदेश जान थालेपछि किसानले यसपटक लोहार पनि छान्न पाएनन्”, उहाँले भन्नुभयो ।
मिथिलामा श्रीपञ्चमी पर्वमा किसानले कृषि ज्यावललाई धोइ पखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास छ । यसै दिन खेतबारीमा हलगोरु नारेर केही फन्का घुमाउने चलन छ । यसैगरी भर्खरका बहर (जोत्ने उमेर पुगेका गोरु) लाई जोत्ने कार्यका लागि सधाउन नार्ने चलन छ । पछिल्लो समय जनशक्ति नभएपछि यी कुनै काम हुने, चल्ने अवस्था हराएको रामराजीको भनाइ छ ।
कामका लागि भारत र अन्य खाडीमुलुक जाने जनशक्ति यहाँ रोक्न नसक्ने हो भने अब खेतीपाती धान्ने अवस्था हराउँदै जाने यहाँ चिन्ता देखिन्छ । कृषि कामका पोख्त मानिने मुसहर, बाँतर समुदायका पाका अभिभावक यहाँको पारिश्रमिकले परिवार धान्न नसकेपछि आफ्ना छोराहरू भारत जानु परेको बताउँछन् । अपेक्षित उत्पादन नहुने र उत्पादित फसलले उचित मूल्य नपाएपछि किसान अन्यत्र जान थालेका हुन् ।
“बजार मँहगो हुँदै गएको छ । यहाँको मजदुरीबाट आएको आम्दानीले जीविकोपार्जन हुन छाडेपछि युवा विदेश पलायन हुन थालेका हुन्”, बर्दिबास–९ का किसान महेन्द्र महतोले भन्नुभयो । यस्ता मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय सरकारले रोजगारीका अवसर सृजना गरी युवालाई स्वदेशमा काम गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्