तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा हालै जारी भएका विभिन्न अध्यादेशहरू पेश भएका छन् । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नुभयो । 

यस्तै सभामा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नुभयो । 

यसैगरी सभाको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सककारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नुभयो । 

संघीय संसद्को दुवै सदनका बैठकहरू जारी नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक सरकारले राष्ट्रपति मार्फत अध्यादेश जारी गर्ने र यसरी जारी भएका अध्यादेशहरू त्यसपछि बस्ने संसद्को बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

यसैगरी राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले मिडिया काउन्सिल विधेयक २०८०, र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो । 

यस्तै बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू बाचन गरी सुनाउनुभयो । 

यस अघि आजको बैठकको सुरुमा सम्बोधन गर्नुहुँदै सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यो अधिवेशनमा विचाराधिन रहेका विधेयकहरूलाई प्राथमिकता दिई निष्कर्षमा पुर्‍याइने बताउनुभयो ।

अध्यक्ष दाहालले अल्पसङ्ख्यक समुदाय एवं पिछडिएको क्षेत्रलाई शासन सञ्चालनमा सहभागी गराई समावेशी लोकतान्त्रिक व्यवस्थाको विकासमा राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

बैठकमा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले संविधानको मर्मअनुसार समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यमा सहमति, सहकार्य र एकताको भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

सांसद सिटौलाले मुलुक परिवर्तनका लागि सबै राजनीतिक दलहरू एक ठाउँ रहेर अगाडी बढ्ने विगतको इतिहास लाई ध्यानमा राखेर मुलुकको विकासका लागि फेरी सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले सार्वभौमिकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र राष्ट्र हितको रक्षाका लागि सबै दल एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कारका पछिल्ला क्रियाकलापले सुशासनको प्रक्रिया अवरुद्ध भएको र राजनीतिक भेदभावपूर्ण व्यवहार देखापरेको उल्लेख गर्नुहुँदै माओवादी केन्द्रका सांसद श्रेष्ठले  जनतालाई केन्द्रमा राखेर सामाजिक, आर्थिक रुपान्तरणका लागि गर्नुपर्ने कामहरू भने हुन नसकेको धारण राख्नुभयो ।

नेकपा एमालेका सांसद भगवती न्यौपानेले सेवा प्रवाहलाई छिटो, छरितो र परिणाममुखी बनाउन सरकारले अध्यादेश ल्याएको  बताउनुभयो ।

नेकपा एकिकृत समाजवादीका सांसद बेदुराम भुषालले संसद्को विधेयक अधिवेशन बोलाउने समय धकेलेर अध्यादेशमार्फत शासन गर्न खोज्ने सरकारको कदमलाई समर्थन गर्न नसकिने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सङ्घीयता कार्यान्वयनका लागि बन्न बाँकी कानुनहरू निर्माण गर्न ध्यान दिनुपर्ने र युवाहरूमा देशमा नै केही गर्न सकिन्छ भन्ने आशा र विश्वास जगाउने गरी काम गर्नुपर्ने विचार राख्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकाका सांसद शेखरकुमार सिंहले मौलिक हकको कार्यान्वयन, महिलाको अधिकारको सुनिश्चिता र नागरिकता सँग सम्बन्धित समस्याहरूको समाधान सँग जोडिएका कानुनहरूको निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । 

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले देशभित्र बढ्दै गएको बेरोजगारीको समस्या समाधानका लागि सबै राजनीतिक दलहरूको ध्यान जानुपर्ने बताउनुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक २०८१ माघ २० गते आइतबार दिउँसो सवा एक बजे (१ः१५ बजे) बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button