सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु
शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गर्नुभएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो ।
प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यस मार्गका यात्रीहरूलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो ।
यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङ युगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिरहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
“सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनु छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरूको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरूमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरू यसैतर्फ केन्द्रित छन् ।”
कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।
सम्बोधनको पूर्णपाठः
सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रू’ कार्यक्रमका सभापति महोदय, उपप्रधानमन्त्रीज्यूहरू, मुख्यमन्त्रीज्यू, नेपालका लागि चिनियाँ राजदूत, नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू !
आज खुसीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ब्रेक थ्रू गर्न सफल भएका छौँ । केही वर्ष अगाडि म बुटवल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरूले गीत गाउनुभएको थियो– ‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड ?’ भनेर । साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा हरेकौँ वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुःखदायी अवस्था थियो । त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे । त्यो गीत त्यसैकारण उब्जिएको थियो–‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड’ भन्ने गीत । त्यो जनताको आवाज गीतका रुपमा घन्किएको थियो । जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउँथे अथवा आफ्नै भाषामा त्यो भन्थे ।
आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड । अब सुरुङका रुपमा बन्यो । अब पहिरो नजाने र नभत्किने गरी बन्यो । बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभइकन बन्यो । सफलतापूर्वक बन्यो । म त्यहाँ निरीक्षणमा जाँदा कि यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरू भन्दै थिए । तर हुन्छ, हुँदो रहेछ । सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ । यस अवसरमा म तपाईंहरुलाई बधाई भन्न चाहन्छु र सबैलाई शुभकामना भन्न चाहन्छु । बधाई यसकारण कि तपाईँहरू त्यस पीडाबाट तपाईँहरू मुक्त हुनुभएको छ, शुभकामना यसकारण कि यसको लाभ लिनुस् र यस लाभबाट तपाईँहरूको सहज आवागमन, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्द व्यापारदेखि लिएर अरू आर्थिक क्रियाकलापदेखि लिएर चाडबाडदेखि लिएर सबै कुराहरूको आदानप्रदान गर्न सक्नुहुन्छ । आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुर्याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरू गर्न सक्नुहुन्छ । अब तपाईँहरू एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ । यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थ्रू भइसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमी रहने छैन । अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ । त्यसै गरेर कालीगण्डकी करिडोरसँग यो बाटो पर गएर जोडिन्छ । जसबाट सडकको एउटा सञ्जालका रुपमा यसले काम गरेको छ । यसका निम्ति यसमा सहयोगकर्ताहरूलाई, दाताहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु । छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकामा ठेकेदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु । यसको मुख्य चुनौतीको पाटो सुरुङमार्ग थियो, त्यो छिचोलिएको छ ।
मैले धेरै अगाडि, जतिबेला नागढुुङ्गा–नौबिसे सुरुङ खण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको अब नेपालमा टनेल युगको प्रारम्भ भयो अथवा हामी नेपालीहरू अब टनेल युगमा प्रवेश गरेका छौँ । अब बिस्तारै बिस्तारै दुर्गम कच्ची पहाडहरू चढ्दै, पहिरो जाने पहाडहरू चढ्दै गाडीहरू घुमाएर मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गरिरहनुपर्ने छैन । धेरै हामी त्यस्ता बाटाहरूलाई छोटा बाटाका रुपमा सुरुङ मार्गबाट वल्लोबेँसीबाट पल्लोबँसी र अझ पल्लोबँेसी निकाल्दै सहज ढङ्गले छोटो बाटोबाट टाढाको दुर्गम सहज नहुने गन्तव्यहरू छोटो मार्गबाट पुग्न सक्छौँ र त्यो हामी प्राप्त गर्न सक्छौँ । पहाडका लागि त्यसबाट सम्पर्क बाटाहरू निर्माण गरेर हामी ती कामहरू गर्न सक्छौँ । हामी त्यहाँ लिङ्क रोडहरू बनाउँछौँ, रिभर करिडोरहरु बनाउँछौँ । नेपालका सबै जिल्लामा अहिले गाडी पुगिसकेको छ । त्यस्तो अवस्थामा नेपाल दुर्गम भन्ने हिजो झैँ रहेन तर यसलाई अझ सुगम बनाउँदै लानेछौँ । विभिन्न खालका सञ्जालका बाटाहरू, सुरुङमार्गहरु, झोलुङ्गे पुलहरू, पुलहरू, हवाई यातायात, हवाईमार्गहरु, मैदानलगायतका अनेक केबलकारहरुजस्ता कुराहरूबाट हामी अनेक ठाउँहरूलाई सुगम र रमाइला ठाउँहरू र विकसित ठाउँका रुपमा परिणत गर्नेछौँ । त्यसकारण अब नेपाल बिस्तारै दुर्गमबाट सुगम रुपमा, पिछडिएका देशबाट अगाडि बढेको देशका रुपमा, अल्पविकसित देशबाट विकासिल देशका रुपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुदैछ भन्ने यी कुराहरूले देखाएका छन् ।
म दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, यो खुसी तपाईँ हामीको खुसीको हो । यो सिङ्गै देशको खुसी हो । यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरूको ठूलो खुसी हो । त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरू जिल्ला यो यस बाटोबाट सजिलैसँग बुटवल अथवा बुटवलबाट पूर्व–पश्चिम जानुपर्दछ, त्यो सजिलो हुन्छ । त्यसकारण यो सुरुङमार्गको विशेष महत्व छ र यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पल्ट घटित भएको र पहिलो पल्ट प्राप्त भएको सफलताको कुरा हो । त्यसकारण म सबैमा खुसी व्यक्त गर्न चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । जसले यसमा काम गर्नुभएको छ, कामदारहरूलाई, मजदुरहरूलाई, इञ्जिनियरहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छु । स्थानीय जनता, जसले यस सुरुङमार्गको निर्माणका लागि सरकारलाई झक्झक्याउने काम, हामी सबैलाई झक्झक्याउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुभएको छ, म उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरूलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरूलाई चिर्दै जाने घटनाहरूबाट, उपलब्धिहरूबाट जोडिँदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुपर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुरु भएका कामहरू अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ । यी कुराहरूमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौँ हाम्रो देश, अरूले बनाउने होइन, हामीले आफैँ बनाउँछौँ, हामी अरूको पनि सहयोग लिन सक्छौँ, अरूको लगानी आमन्त्रण गर्न सक्छौँ, अरूको अनुकूलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरूका लोनहरू पनि आवश्यकताअनुसार स्वीकार गर्न सक्छौँ । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युवा जनशक्ति छ, स्रोतसाधन छन्, हाम्रा प्रयासहरू र हाम्रा मित्रहरूका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्नेछौँ । म सबै साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद तथा शुभकामना ।
प्रतिक्रिया राख्नुहोस्