बर्दियामा जलपंक्षीको संंख्यामा वृद्धि
बर्दिया । बर्दिया जिल्लामा भएको चरा गणनामा पानी चराको सङ्ख्या बढेको छ । बर्दिया जिल्लाका विभिन्न ताल तलैया र नदीहरूमा जाडोको समयमा बसाई सरी आउने र रैथाने पानी चराको सङ्ख्या बढेको हो ।
गेरुवा नदी कर्णाली नदी र बढैया तालमा चराको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको हो । कर्णाली र गेरुवा नदिमा चराको प्रजाति वृद्धि भएपनि बढैया तालमा गत वर्षको तुलनामा यस बर्ष चराको प्रजाति घटेको छ ।
साइबेरिया लगायत विभिन्न देशबाट जाडो छल्नका लागि आउने पाहुना चराको हरेक बर्ष गणना गर्ने गरिएको छ । यस वर्षको चरा गणनामा बर्दियामा तिन हजार आठ सय ८९ ओटा जलचर भेटिएका छन् । जसमध्ये बढैया तालमा सबैभन्दा बढी दुई हजार एक सय ४९ ओटा, कर्णाली नदिमा नौ सय १८ र गेरुवा नदिमा आड सय २२ ओटा फेला परेका छन् ।
गत बर्ष २०८०को चरा गणनामा तिन हजार दुई सय चार र २०७९को चरा गणनामा दुई हजार एक सय २६ ओटा चरा गणना गरिएको थियो । अघिल्लो वर्षको तुलनामा यस बर्ष चराका प्रजाति र चराहरू बढी फेला परेको नेपाल पन्छीविद् सङ्घका केन्द्रिय सदस्य एवं चरा विज्ञ रामबहादुर शाहीले बताउनु भयो
उहाँले बर्दियामा चराको बासस्थानमा समस्या हुँदा हुँदै पनि आगन्तुक चराको सङ्ख्यामा वृद्धि हुनु सुखद् रहेको बताउनु भयो । बजेट अभावको कारणले बर्दिया जिल्लामा भएका अरू तालतलैयाहरुमा चरा गणना गर्न नसकिएको बताउँदै कतिपय जलचराहरु अरू ताल तलैयामा समेत फेला पर्ने गरेको बताउनु भयो । सङ्घीय सरकार र स्थानीय सरकारले चरा गणनालाई व्यवस्थित बनाउनका लागि आवश्यक बजेट र कार्यक्रमको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले पानीको कमी, असुरक्षित बासस्थान, आहारा प्रजातिको कमी, डिजेबाजा, र पर्यावरणमा परेको असरका कारण चराको बासस्थान सङ्कटमा पर्दै गएको बताउनु भयो । उहाँले पछिल्लो समयमा भइरहेको विकास निर्माण वातावरण मैत्री हुन नसक्दा चराहरूको बास स्थान सङ्कटमा परेको, नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारहरूले चराहरू सङ्कटमा पार्दै गइरहेको बताउनु भयो ।
नेपालमा ८ सय ९७ प्रजातिको चरा मध्ये २ सय प्रजातिका जलपँक्षीको रहेका छन् । नेपालमा हरेक बर्ष एक सय ५३ प्रजातिका चराहरू बसाइ सरेर आउने गरेको तथ्याङ्क छ ।
बढैया तालमा ३ ओटा सारस
जलपंक्षीको लागि र आगन्तुक चराको लागि प्रख्यात मानिएको बढैया तालमा हाल तिन ओटा सारस फेला परेका छन् । गत वर्षको चरा गणनामा दुई ओटा सारस रहेकोमा यस बर्ष एक बच्चा सहित तिन ओटा सारस फेला परेको छ ।
यस बर्ष एक बच्चा सहित तिन ओटा सारस फेला परेको पंक्षी विद् शाहीले बताउनु भयो । उहाँले भन्नुभयो –‘अझ बासस्थानमा सुधार गर्ने र यसको संरक्षणको लागि सचेतना फैलाउने हो भने यसको सङ्ख्या बढाउन सकिन्छ ।’
सारसलाई विश्व मै संवेदनशील चराको सूचिमा राखिएको छ भने नेपालमा पनि संकटासन्न चराको रुपमा सारसलाई राखिएको छ ।
१० बर्ष देखि आएन सेतो भुँडी फोर
बर्दियामा केही बर्ष यता आगन्तुक चराहरूको सङ्ख्या बढेपनि प्रजातीको सङ्ख्या भने बढेको छैन । बढैया तालमा गत वर्षको तुलनामा पाँच वटा चराको प्रजाति फेला परेनन् । जलवायु परिवर्तन र बढ्दो मानवीय क्रियाकलापले गर्दा बासस्थानमा समस्या देखिएपछि कतिपय चराहरू बसाई सरेर आउन छोडेका छन् ।
बर्दिया जिल्लामा विगत १० बर्ष यता सेतो भुँडी फोर (white strok) चरा बर्दिया जिल्लामा फेला परेको छैन । १० बर्ष अगाडी सम्म बर्दिया जिल्लामा भेटिने सोतो भुँडी फोर हाल देखा पर्न छोडेको पंक्षी विद्ध रामबहादुर शाहीले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्