तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारको सय दिन

दाङ । लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धी पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गर्नु भएको हो ।

नागरिकमा बढ्दै गएको निराशालाई आशामा रूपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार सफल भएको बताउनु भयो ।‘प्रदेश सरकारको फजुल खर्च रोक्न, मितव्ययिता कायम गर्न नवीनतम सन्देश जनस्तरमा प्रवाह भएको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यस अवधिमा प्रदेश सरकारले नीतिगत र कानुनी सुधार, शासकीय सुधार र सुशासन, विकास व्यवस्थापन, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्र, कृषि र स्वरोजगारको क्षेत्र, पर्यटन, संस्कृति र पर्यावरण, सूचना प्रविधिको विकास र प्रयोग, गुनासो व्यवस्थापन, जनतासँगको संवाद लगायतलाई प्राथमिकतामा राखेर कामकारबाही गर्दै आएको छ ।’

प्रदेशको आन्तरिक आयस्रोत वृद्धि गर्न राजश्वको दायरा फराकिलो बनाउने, आर्थिक अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने, अघिल्लो वर्षको दायित्व भुक्तानीलाई अघि बढाउने आधार तयार गरिएको मुख्यमन्त्री आचार्यको भनाई छ ।

गत साउन ९ गत पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सचिव महादेव पन्थले स्वागत, उपलब्धिको सार्वजनिक सचिव कृष्ण पौडेलले गर्नु भएको थियो भने सहजिकरण सचिव ईश्वरराज पौडेलले गर्नु भएको थियो ।

प्रदेश सरकारले सय दिनको अवधिमा नीतिगत एवं कानुनी सुधार,सङ्गठन तथा व्यवस्थापन,शासकीय सुधार तथा सुशासन,प्रदेश गौरवका आयोजनाको कार्यान्वयन,आर्थिक मामिला तथा राजस्व सुधार,सूचना तथा सञ्चार प्रविधिको अवलम्बन र विकास का क्षेत्रमा काम गरेको बताएको छ । 

त्यसैगरी जनगुनासो व्यवस्थापन,भौतिक पूर्वाधार विकास,ग्रामीण तथा शहरी विकास ,खानेपानी तथा सरसफाई , न्यायिक प्रतिरक्षा ,जनशक्ति तथा पदपूर्ति, उद्योग, पर्यटन तथा यातायात ,वन तथा वातावरण ,कृषि, भूमि व्यवस्था तथा सहकारी , ऊर्जा, जलश्रोत तथा सिंचाई,स्वास्थ्य, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुनको क्षेत्रमा पनि उल्लेख्य मात्रामा काम गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button