ढोरपाटनमा थपिँदै होटल, बढ्दै पर्यटक
बागलुङ । पछिल्लो समय ढोरपाटन पुग्ने र बुकी चढ्नेको लहर नै चलेको छ । एक दशक अगाडिसम्म यहाँको ढोरबराहमा जनैपूर्णिमाको अवसर पारेर पूजाआजा गर्न जानेबाहेक अन्य समयमा पर्यटकको सङ्ख्या न्यून हुने गर्थ्यो । बास बस्न होटल सुविधा नहुँदा जनैपूर्णिमामा देशभरबाट आउनेहरूले पनि सास्ती भोग्नुपर्थ्यो । कसैले गोठमा स्याउला बिच्छाएर त कसैले रातभर जागराम बसेर कष्टपूर्ण समय बिताउनुपर्थ्यो । दशक अगाडिसम्म यहाँ आउनेमध्ये धेरैलाई कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ताले पिरोल्ने गरेको थियो ।
पशुचौपाया र बर्खेखेती गर्नका लागि उपत्यका पुगेका अधिकारीचौर र बोबाङवासीको गोठमा बास पाउँदा पनि निकै राहत महसुस गर्ने अवस्था थियो । अचेल भने त्यो परिस्थिति फेरिएको छ । नेपालको एक मात्र सिकार आरक्ष रहेको यस क्षेत्रमा दर्जनौँ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । विगतमा जस्तो खान र बस्न समस्या नभएपछि अचेल धार्मिक तथा अन्य पर्यटकको सङ्ख्यासमेत बढ्दै गएको व्यवसायीले बताएका छन् ।
केही वर्षयता बाह्रै महिना पर्यटक पुग्न थालेपछि व्यवसायीहरूले यहाँ धमाधम होटल तथा घरबास (होम–स्टे) सञ्चालनमा ल्याउन थालेका ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवनकुमार पुन मगरले बताउनुभयो ।
ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा धेरै होटल तथा घरबास सञ्चालनमा आएका छन् । स्थानीयसँगै जिल्ला बाहिरका व्यवसायीले समेत यहाँ आएर होटल व्यवसाय गर्न थालेका छन् ।
सङ्घका अध्यक्ष पुन मगर विसं २०७५ यता हरेक वर्ष नयाँ होटल थपिँदै गएको बताउनहुन्छ । जनैपूर्णिमामा यहाँ आउने दर्शनार्थीले हाल खुला आकाशमुनि रात बिताउनुपर्ने समस्या अन्त्य भएको उहाँले बताउनुभयो । बराह मन्दिर दर्शनमा आएका भक्तजनले स्यालपाखे, नवी, पाखाथर, उत्तरगङ्गा, भूजी लगायतका ठाउँमा गएर बस्न सक्ने अवस्था रहेको अध्यक्ष पुन मगरको भनाइ छ ।
शनिबारदेखि नै ढोरपाटनमा भक्तजनको घुइँचो लाग्न थालेको छ । होटल व्यवसायी श्यामलाल घिमिरेले आइतबार दिउसोसम्म यहाँ सञ्चालित सबै होटल भरिभराउ हुँदा पाहुनालाई स्थानीयको घरमा समेत व्यवस्थापन गर्न थालिएको बताउनुभयो । आफूले मात्रै करिब ४० जना पाहुनालाई बास दिएको सुनाउँदै मङ्गलबारसम्म थेगिनसक्नु भीड हुने उहाँ बताउनुहुन्छ । अहिले ढोरपाटन पुग्ने कोही पनि पाहुना गोठमा बस्नुपर्ने स्थिति नरहेको घिमिरेको भनाइ छ ।
ढोरपाटन नगरपालिका–९ का स्थानीय पदमबहादुर पुनले यहाँ सञ्चालनमा आएका होटेलले पर्यटकलाई सहज भएको बताउनुभयो । अब बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटर सडक स्तरोन्नति गरिएमा ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि हुने पुनको विश्वास छ ।
प्रतिक्रिया राख्नुहोस्