युवाहरूमा सकारात्मक सोचको विकास आवश्यक : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुलुकको आर्थिक सामाजिक परिवर्तनका लागि युवा शक्ति केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/04/mukhya-mantri-ph-1024x768.jpg)
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आयोजनमा मोरङ कटहरी भएको प्रथम थ्री जिरो क्लब सदस्य सम्मेलन–२०८१ को उद्घाटन गर्नुहुँदै उहाँले युवाहरूमा सकारात्मक सोचको विकास गर्दै युवा शक्तिलाई देश निमार्णमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले मानवीय विकास विना भौतिक विकास दिगो नहुने भएकाले कोशी प्रदेश सरकारले मानवीय विकासलाई जोड दिएको बताउनुभयो ।
जीवन विकास समाजका संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्रप्रसाद मण्डलले जीवन विकासले लघुवित्त कार्यक्रम सञ्चालनसँगै गरिबी निवारण, बेरोजगारी समस्या समाधान तथा खुद कार्बन उत्सर्जन अभियानमा जिरो क्लब गठन गरेर युवाहरूलाई सही बाटोमा जोडने काम गरेको बताउनुभयो ।
कार्यक्रममा धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछकुमार गच्छदार, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंखरमान श्रेष्ठ तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले थ्री जिरो क्लब सदस्यहरुले अझ सक्रिय भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्