तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक कला, साहित्य र संस्कृतिलाई जर्गेना गर्न आवश्यक रहेको बताउनुभएको छ । रारा राष्ट्रिय म्युजिक अवार्ड उद्घाटन समारोलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कला, साहित्य, संस्कार र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।

सप्तरंगी फूलजस्तै सजिएको सांस्कृतिक सम्पदाले सुसम्पन्न भएको मुलकको रूपमा नेपाल विश्वभर परिचित रहेकोले मौलिक गीत, संगीत र बाजाहरूलाई संरक्षण गर्न आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

उहाँले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको पनि बताउनुभयाे । आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत र साधन सदुपयोग गर्नसके सामाजिक तथा आर्थिक रूपमा समेत कर्णाली क्षेत्रलाई माथि उठाउन सकिने उहाँको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर यसको कार्यान्वयन गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले कर्णाली क्षेत्रले समग्र नेपालको कला र संस्कृतिमा पुर्‍याएको योगदानलाई आजको यस कार्यक्रमले उजागरण गर्न मद्दत पुर्‍याएको बताउनुभयो ।

उहाँले कर्णालीको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थलका रूपमा मानिएको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीको संलग्नतामा कर्णाली क्षेत्रको समाज, जीवन र संस्कृतिसमेतको अध्ययनमा कर्णालीको लोक संस्कृति प्रकाशनमा आएपछि यस क्षेत्रको विशिष्टताका बारेमा हामीले थप परिचित हुने मौका मिलेको बताउनुभयो ।

उहाँले विविध संस्कृतिले सजिएको नेपाल सांस्कृति सम्पदाले सुसम्पन्न विश्वभर परिचित रहेको बताउनुभयो । ‘यहाँका विविध संस्कृतिभित्र मौलिक परम्परा, कला तथा साहित्य विद्यामान छ । हरेक मुलुकको संस्कृतिलाई त्यहाँको कला सामाजिक संस्कार र परम्पराले प्रत्यक्ष प्रभाव पार्ने हुनाले यसलाई समाजको दर्पण मानिएको छ’, उहाँले भन्नुभयो, ‘हाम्रा मौलिक गीत सङ्गीत र बाजाहरू अतुलनीय रहेको छ । जसले हामीलाई उन्नत राष्ट्रिय भावनामा आबद्ध गरेको छ । यसै हुनाले नेपाली समाज र संस्कृतिका रूरुपमा सयौँ थरी बाजा एउटै ताल भन्ने भनाइ सार्थक भएको छ भन्ने मलाई लागेको छ ।’

कार्यक्रममा कलाकार शम्भुजित बाँस्कोटा, नन्दकृष्ण जोशी, अमृत खाती, समाजसेवी ज्ञानेन्द्र श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button