१७ महिनापछि जलेश्वर भन्सारको मूल बाटो खुल्ला

जनकपुरधाम । धनुषा तथा महोत्तरी जिल्लालाई जोड्ने महोत्तरी जिल्लाको जलेश्वरमा रहेको मूल भन्सार भिट्ठामोड सीमा नाकाको मूल बाटो सुचारु भएको छ । करिब १७ महिनापछि मूल बाटो भएर सर्वसाधारणको आवतजावत हिजो देखि शुरु भएको छ ।
कोरोना महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाट बाटो बन्द रहेको भए पनि सर्वसाधारणहरू साइडबाट आवतजावत भए पनि मूल बाटो बन्द रहेको थियो ।
गत शुक्रवार देखि जलेश्वर नगरपालिकाको सीमासँगै जोडिएको वडा नंं ३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय जनाले सीमा नाकामा धर्ना बसेपछि सो नाका भएर हिजो देखि सर्वसाधारणको आवतजावत खुला भएको छ ।
सो नाकाबाट मालवाहक ट्रक, टिपरलगायत साधन बन्दाबन्दीको बेला पनि निर्बाध रूपमा आवतजावत हुने गरेको भए पनि सर्वसाधारणलाई जान दिइएको थिएन । पैदल यात्रीहरू साइडको चोर बाटो भएर जाने गरेका थिए ।
भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरू पाँच सय मिटर टाढा खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गर्नमा रोक नलगाए पनि वर्षाका कारणले सर्वसाधारणलाई आउँ जाउँ गर्नमा निक्कै समस्या भएका थिए । हिजो देखि मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण निक्कै राहत भएपछि खुशी भएका छन् ।
सो नाकाबाट पैदल आवागमन शुरू भए पनि सार्वजनिक तथा निजी सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरू पहिलेझैँ आउजाउ गरिरहेको जलेश्वर भन्सार कार्यालयले जनाएको छ ।
अहिले कोरोनाका अवस्था नेपालको सीमावर्ती तथा भारतीय सीमावर्ती क्षेत्रमा सामान्य जस्तै भएकाले आउँ जाउँ सुचारु गर्नका लागि स्थानीयवाँसीबाट कडा दबाब हुँदै आएको थियो । अहिले पनि औपचारिक रुपमा नेपाल भारतको सीमा नाका बन्द नै रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्