तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा प्रहरीद्वारा फरार ६ जना अभियुक्त पक्राउ

बीरगंज । पर्सा प्रहरीले अवैध लागु औषध, ज्यान मार्ने उद्योग, सवारी ज्यान मुद्दाका फरार ६ जना अभियुक्तहरूलाई पक्राउ गरेको छ । 

प्रहरीले २०७० जेठ २६ गते पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर निवासी ५१ वर्षीय रामेश्वर महतोले आफ्नो घरमा रहेको शौचालय पछाडि परालमा छोपी लुकाई छिपाई राखेको अवस्थामा २८ किलो लागु औषध चरेस बरामद गरेको र सो मुद्दामा फरार रहेका प्रतिवादी रामेश्वर कुशवाहालाई पर्सा प्रहरीले गए राति छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वाबाट पक्राउ गरी थप अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो । 

त्यसैगरी पर्सा प्रहरीले ज्यान मार्ने उद्योग, सवारी ज्यान मुद्दा र लागु औषध चरेसका मुद्दाका थप ५ जना विभिन्न मितिमा फरार अभियुक्तलाई समेत पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट फरार अभियुक्त पक्राउ अभियान अन्तरगत खटिएको टोलीले भदौ ३ र ४ गते ज्यान मार्ने उद्योगका फरार अभियुक्त सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी ४० वर्षीय मनोज राना मगर, सवारी ज्यान मुद्दाका सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ निवासी ३५ वर्षीय अनिल सहनी, ४० वर्षीय किशोर सहनी र ५० वर्षीय भरत सहनी सहित लागु औषध चरेस मुद्दाका फरार अभियुक्त छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर निवासी शेखर महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button