तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरका तीन सडक स्तरोन्नति गर्न १५ करोडको बोलपत्र आह्वान

बाँके। बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका तीनवटा महत्त्वपूर्ण सडक निर्माण तथा स्तरोन्नतिका लागि करिब १५ करोड रुपैयाँको बोलपत्र आह्वान गरेको छ।

नगरको सहरी तथा ग्रामीण क्षेत्रको सडक सञ्जाल व्यवस्थित गर्दै यातायात पहुँच सहज बनाउने उद्देश्यले नगरपालिकाले निर्माण प्रक्रिया अघि बढाएको हो।

नगरपालिकाका अनुसार वडा नम्बर ३ र १५ जोड्ने मैटहवा–चन्नहवा सडक स्तरोन्नति गरिनेछ। यसबाट भित्री बस्तीका बासिन्दालाई मुख्य राजमार्ग तथा बजार क्षेत्रसम्म आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, वडा नम्बर ८ स्थित साइनिङ स्टार चोक–शीतलनगर–नहर सडक र वडा नम्बर ११ को एनटिभी चोक–एनटिभी कार्यालय–कृषि मण्डी–पुरानो बसपार्क सडक पनि निर्माण तथा स्तरोन्नति गरिनेछ।

तीनवटै सडकका लागि करिब १५ करोड रुपैयाँ लागत अनुमान गरी निर्माण व्यवसायी छनोट गर्न बोलपत्र आह्वान गरिएको नगरपालिकाले जनाएको छ। बोलपत्र मूल्यांकन र निर्माण सम्झौताको प्रक्रिया पूरा भएपछि काम सुरु हुनेछ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरको समग्र विकास र आर्थिक समृद्धिका लागि गुणस्तरीय सडक पूर्वाधारलाई प्राथमिकता दिइएको बताउनुभयो।

नगरवासीको लामो समयदेखिको माग र आवश्यकतालाई ध्यानमा राखेर तीनवटा महत्त्वपूर्ण सडकको बोलपत्र आह्वान गरिएको उल्लेख गर्दै उहाँले निर्माणको गुणस्तर र समयसीमामा विशेष ध्यान दिइने बताउनुभयो।

उहाँले निर्माण कार्यको प्रभावकारी अनुगमन गरिने र अन्य वडाका भित्री सडक तथा आवश्यक पूर्वाधार विकासका योजनालाई पनि प्राथमिकताका आधारमा अघि बढाइने जानकारी दिनुभयो।

सडक स्तरोन्नति भएपछि वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या झेल्दै आएका स्थानीय बासिन्दालाई राहत पुग्नुका साथै कृषि उपजको ढुवानी, व्यापारिक गतिविधि र समग्र यातायात व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button