तपाईँ सुन्दै हुनुहुन्छः

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : पुरुष फुटबलमा आर्मीको लगातार दोस्रो जीत

मुगु  । त्रिभुवन आर्मी क्लबले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल अन्तर्गत लगातार दोस्रो जीत दर्ता गरेको छ । 

शुक्रबार भएको खेलमा आर्मीले बागमतीलाई २–० गोलको अन्तरमा पराजित गरेको हो । 

पहिलो हाफ बराबरी भएको सो खेलको ६४औँ मिनेटमा आर्मीका लागि लाकेन लिम्बुले पहिलो गोल गरे भने दोस्रो गोल अतिरिक्त खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका नवयुग श्रेष्ठले ९७औँ मिनेटमा अर्को गोल गरी आर्मीको जित सुनिश्चित गरे ।

पाँच वटा पहेँलो कार्ड देखाइएको सो खेलमा आर्मीका ३ र बागमतीका २ खेलाडीले पहेँलो कार्ड पाएका थिए । आर्मीका लाकेन लिम्बुले १२ औँ, अनुभव पुरीले ३९ औँ र बिमल पाण्डेले ९२ औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए भने बागमतीका रोनिस राजबाहकले ८८ औँ र भुवन कामीले ९२ औँ मिनेटमा पहेँलो कार्ड पाएको म्याच कमिसनर बीरेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

लुम्बिनीसँग पहिलो खेल जितेको आर्मीले बागमतीलाई पनि जितेपछि ६ अंक प्राप्त गरेको छ भने पहिलो खेल कोशी प्रदेशसँग बराबरी गरेको बागमतीको एक अंक मात्र छ । 

शनिवार पहिलो खेल बिहान सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ तथा दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लवबीच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button