तपाईँ सुन्दै हुनुहुन्छः

दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जीत

सुर्खेत ।  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हाल जारी रहेका सबैजसो खेल विद्याहरूमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जीतसँगै उत्साहजनक शुरुवात गरेको छ । 

आज कालुन्चोक मैदानमा उद्घाटन खेलमा कर्णालीका विपिन रावल चम्किँदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णालीले घरेलु दर्शकलाई  पहिलो खुशी दिएको हो । 

१२८ रनको लक्ष्य पछ्याएको कर्णालीले विपिनले ३५ बलमा जोडेको महत्वपूर्ण ६० रनको योगदानमा १३ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रविन्द्रजंग शाहीले समान १३–१३ रन जोड्नुभयो । 

टस हारे पनि पहिला ब्याटिङको निम्ता पाएको छिमेकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । 

सुदूरपश्चिमका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो । सुदूरपश्चिमलाई सुरुदेखि नै दबाबमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई–दुई विकेट लिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button