ट्रम्प, सी र पुटिनबीच पहिलो त्रिपक्षीय वार्ता, परमाणु सुरक्षा र युद्ध अन्त्य मुख्य एजेन्डा
काठमाडौं । विश्वका तीन शक्तिशाली राष्ट्रका नेता आज एउटै टेबलमा बस्दैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा पहिलोपटक प्रत्यक्ष त्रिपक्षीय वार्ता हुन लागेको हो ।
परमाणु हतियार नियन्त्रण, युक्रेन र इरान युद्धको अन्त्य, अन्तर्राष्ट्रिय व्यापार तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा बढ्दो प्रतिस्पर्धा वार्ताका प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ । अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार, तीन नेताबीचको यो भेटले विश्व राजनीतिमा शक्ति सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धको आगामी दिशाबारे महत्त्वपूर्ण संकेत दिन सक्नेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको बताउँदै वार्ताबाट उपलब्धि हासिल हुने दाबी गर्दै आएका छन् ।
‘उनीहरू दुवै ट्रम्पलाई मन पराउँछन् । तर मपछि के हुन्छ, त्यो भने भन्न सक्दिनँ,’ ट्रम्पले बिहीबार फक्स न्युजसँग भनेका छन् ।
त्रिपक्षीय छलफलपछि ट्रम्पले सी र पुटिनसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता पनि गर्ने कार्यक्रम छ । उनले पहिले सीसँग र त्यसपछि पुटिनसँग भेटवार्ता गर्नेछन् । गत वर्ष अमेरिकाको अलास्कामा भएको भेटपछि ट्रम्प र पुटिनबीच हुन लागेको यो पहिलो प्रत्यक्ष वार्ता हो । त्यसबेला युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुनै सहमति जुट्न सकेको थिएन ।
परमाणु हतियार नियन्त्रणमा ट्रम्पको जोड
तीन नेताबीचको वार्तामा परमाणु हतियार नियन्त्रण प्रमुख मुद्दामध्ये एक हुनेछ । अमेरिका र रुसबीचको अन्तिम परमाणु हतियार नियन्त्रण सम्झौता ‘न्यु स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भएपछि नयाँ सम्झौताको आवश्यकता झन् बढेको छ ।
राष्ट्रपति ट्रम्पले चीनलाई समेत समेटेर नयाँ र आधुनिक परमाणु हतियार नियन्त्रण सम्झौता गर्नुपर्ने बताउँदै आएका छन् । तर चीनलाई यस्तो सम्झौतामा सहमत गराउनु चुनौतीपूर्ण देखिन्छ ।
अनुमानअनुसार, चीनसँग ६०० भन्दा बढी परमाणु हतियार छन् । जबकि अमेरिका र रुससँग पाँच हजारभन्दा बढीका दरले परमाणु हतियार रहेको बताइन्छ । आफ्नो परमाणु हतियारको भण्डार अमेरिका र रुसको तुलनामा निकै सानो भएकाले संख्या सीमित गर्ने सम्झौतामा सहभागी हुन चीन अनिच्छुक हुन सक्ने विश्लेषकहरूको बुझाइ छ ।
आर्म्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक ड्यारिल किमबलले तीन नेताबीचको भेटलाई केवल कूटनीतिक प्रदर्शनमा सीमित गर्न नहुने बताएका छन् ।
‘हामीलाई ट्रम्प, सी र पुटिनबीचको कूटनीतिक नाटक र फोटो खिच्ने अवसरभन्दा बढी चाहिएको छ । एउटा बैठकबाट नाटकीय उपलब्धि हासिल हुने सम्भावना छैन,’ उनले एपीसँग भनेका छन् ।
ट्रम्पले पनि परमाणु हतियारको संख्या घटाउन कुनै देशका नेतालाई सहमत गराउनु निकै कठिन काम भएको स्वीकार गर्दै आएका छन् ।
युक्रेन र इरान युद्धमा के होला सहमति ?
परमाणु हतियार नियन्त्रणसँगै युक्रेन र इरान युद्ध पनि त्रिपक्षीय वार्ताका महत्त्वपूर्ण विषय बन्नेछन् ।
रुसी राष्ट्रपति कार्यालयका विदेश मामिला सल्लाहकार युरी उशाकोभले तीन नेताबीचको छलफलमा युक्रेन युद्धको विषय उठ्ने बताएका छन् । यद्यपि, वार्ताको विस्तृत कार्यसूची भने अन्तिम भइनसकेको उनको भनाइ छ ।
राष्ट्रपति ट्रम्प युक्रेन युद्ध अन्त्य गर्ने विषयमा पुटिनसँग छलफल गर्न चाहन्छन् । त्यस्तै, इरानसँग जारी युद्धबारे पनि चीन र रुससँग कुरा गर्ने उनको योजना छ ।
तर यस वार्ताको एउटा महत्त्वपूर्ण पक्ष के छ भने, युक्रेन स्वयं छलफलमा सहभागी छैन । युद्धबाट प्रत्यक्ष प्रभावित युक्रेनसँगै जर्मनी, फ्रान्स, बेलायत, जापान र दक्षिण कोरियाजस्ता मुलुक पनि वार्ताको प्रक्रियाबाहिर छन् ।
युक्रेन युद्धको परिणामबाट प्रत्यक्ष प्रभावित युरोपेली मुलुकहरूलाई बाहिर राखेर अमेरिका, चीन र रुसले सम्भावित समाधानबारे छलफल गर्न लागेको विषयले प्रश्नसमेत उठाएको छ ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले यसअघि युरोपेली मुलुकहरूमा फेरि ‘एन्करेज क्षण’ दोहोरिने आशङ्का रहेको बताएका थिए । उनले गत वर्ष अलास्कामा ट्रम्प र पुटिनबीच भएको भेटलाई संकेत गरेका थिए । त्यसबेला युक्रेन र उसका साझेदारहरूले अस्वीकार गरेका प्रस्तावहरू अघि सारिएका थिए ।
ट्रम्पले पुटिनसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको बताउँदै आए पनि पछिल्लो समय अमेरिका र युक्रेनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकार गरेका छन् । यस्तै, युक्रेनले रुसी आक्रमणविरुद्ध प्रयोग गर्दै आएको भूउपग्रह सेवामा समेत अवरोध आएको छ ।
ट्रम्पसँगै चीन पुगेका अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले युक्रेनले प्रयोग गर्दै आएको सैन्य भूउपग्रह प्रणाली ‘स्टारसिल्ड’ को सेवा पटकपटक सीमित गरेको थियो ।
व्यापार र एआईमा पनि शक्ति प्रतिस्पर्धा
तीन नेताबीचको छलफल युद्ध र सुरक्षा मामिलामा मात्र सीमित हुने छैन । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापारिक तनाव तथा एआई प्रविधिमा वर्चस्व कायम गर्ने प्रतिस्पर्धाले पनि वार्तामा महत्त्व पाउनेछ ।
गत वर्ष एकअर्काका सामानमा भन्सार शुल्क बढाएपछि अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएको थियो । त्यसपछि भएको अस्थायी व्यापारिक सहमति आगामी जनवरी १० मा समाप्त हुँदैछ ।
यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग व्यापारिक विषयमा छलफल गरेका थिए ।
अमेरिकी अधिकारीहरूका अनुसार, चीनले गत वर्ष ट्रम्प र सीबीच भएको भेटमा अमेरिकी कृषि उत्पादनको खरिद बढाउने तथा विद्युतीय उपकरण उत्पादनका लागि आवश्यक दुर्लभ खनिजको निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गरेको छैन ।
यसैबीच, एआई प्रविधिमा विश्वव्यापी नेतृत्व हासिल गर्ने प्रतिस्पर्धा पनि अमेरिका र चीनबीच चर्किएको छ । चीनको उन्नत कम्प्युटर चिपमा पहुँच सीमित गर्न अमेरिकाले थप प्रतिबन्ध लगाउन सक्ने अपेक्षा गरिएको थियो । तर ट्रम्पले चीनसँगको सम्बन्ध थप बिग्रिन नदिन तत्काल नयाँ प्रतिबन्ध लगाउन अनिच्छा देखाएका छन् ।
अर्कोतर्फ, अमेरिका र चीनबीच व्यापारिक प्रतिस्पर्धा चर्किरहेका बेला चीन र रुस दुवैले इरानसँग व्यापारिक सम्बन्ध कायम राखेका छन् । अमेरिकाले इरानमाथि युद्ध गरिरहेका बेला पनि दुवै मुलुकले इरानसँगको व्यापारिक सम्बन्धलाई निरन्तरता दिएका छन् ।
इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य बढेको छ भने विश्व अर्थतन्त्रको वृद्धिमा समेत असर परेको छ ।
परमाणु हतियारको प्रतिस्पर्धा, युक्रेन र इरान युद्ध, अमेरिका–चीन व्यापारिक तनाव तथा एआई प्रविधिमा वर्चस्वको होडबीच हुन लागेको तीन शक्तिशाली नेताको यो भेटलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ । वार्ताले ठोस सहमति जुटाउँछ वा शक्ति राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्ध र प्रतिस्पर्धालाई नयाँ दिशा दिन्छ भन्ने विषय भने प्रतीक्षाकै विषय बनेको छ ।






प्रतिक्रिया राख्नुहोस्