छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
छठ महापर्व, २०८३ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले हिमाल, पहाड र मधेसका जनतालाई सांस्कृतिक आत्मीयताको सूत्रमा बाँध्ने यस्ता पर्वले हाम्रो राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई अझ सुदृढ बनाएको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले मानव, प्रकृति र सृष्टिबीचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताउनुभएको छ । उहाँले सूर्यलाई प्रत्यक्ष जीवनदाता तथा ऊर्जाको स्रोतका रूपमा श्रद्धापूर्वक अघ्र्य अर्पण गर्ने यस पर्वले प्रकृतिप्रति कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले अस्ताउँदो सूर्यलाई सम्मानपूर्वक अघ्र्य अर्पण र नमन गर्दै उदाउँदो सूर्यको स्वागत गर्ने छठको परम्पराले जीवनका हरेक अवस्था, सङ्घर्ष र सम्भावनाप्रति समान आदर राख्न सिकाउने उल्लेख गर्नुभएको छ । ‘नहाय–खाय’, ‘खरना (रसयारोटी)’, सन्ध्या अघ्र्य र उषा अघ्र्यका धार्मिक अनुष्ठानहरूले आत्मअनुशासन, धैर्य, श्रद्धा र आध्यात्मिक शुद्धताको अभ्यास गराउने उल्लेख गर्दै उहाँले बर्तालुहरूले कठिन साधना र संयमका साथ सम्पन्न गर्ने यो पर्वले इच्छाशक्ति, परिवारप्रतिको समर्पण तथा सामूहिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गर्ने बताउनुभएको छ ।
“छठ पूजा–आराधनाको पर्व मात्र होइन, सामाजिक समरसता र सहअस्तित्वको उत्सव पनि हो । बाँसका डाला, सुपली, माटाका भाँडा, स्थानीय फलफूल, अन्न तथा परम्परागत सामग्रीको प्रयोगले हाम्रो रैथाने ज्ञान, श्रमसंस्कृति र स्थानीय उत्पादनप्रतिको सम्मानलाई उजागर गर्दछ”, उपराष्ट्रपति यादवद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपति यादवले छठमा प्रसादका रुपमा प्रयोग गरिने विशेष परिकारहरु ठेकुवा, भुसुवा, पिरुकिया, खजुरियालगायतले रैथाने संस्कृतिको संरक्षणमा टेवा पुग्ने जनाउँदै विभिन्न समुदाय, पेसा र वर्गका मानिसको साझा सहभागिताले छठ पर्वलाई सामाजिक एकता र पारस्परिक सहयोगको जीवन्त पर्वका रूपमा स्थापित गरेको बताउनुभएको छ । नदी, पोखरी, तलाउ र जलाशयको सरसफाइ तथा संरक्षणसँग जोडिएको छठ पर्वले वातावरणीय चेतना र प्राकृतिक स्रोतहरूको संरक्षणप्रतिको जिम्मेवारीसमेत बोध गराउने उहाँको भनाइ छ ।
उपराष्ट्रपति यादवले छठ पर्वले सम्पूर्ण नेपालीमा सत्य, सेवा, सदाचार, अनुशासन र सहकार्यको भावना विकास गरोस् भनी कामना गर्नुभयो । उहाँले सूर्यदेव र छठी माताको कृपाले प्रत्येक नेपालीको जीवनमा आशा, उत्साह, स्वास्थ्य, सुख र सफलताको प्रकाश फैलियोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्