सरकारी खरिद कोटा घटेपछि किसानलाई सहकारीको भर
बाँके । सरकारले धान खरिदको कोटा आधा घटाएर निर्धारण गरेपछि बाँकेमा सरकारी स्तरबाट धान खरिद प्रक्रिया सुरु हुन नसकिरहेका बेला जिल्लाको एक सहकारीले किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न थालेको छ । राप्तीसोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले गाउँमै धान खरिद सुरु गरेपछि स्थानीय किसानलाई केही राहत मिलेको छ ।

सहकारीले यस वर्ष किसानले उत्पादन गरेको विभिन्न जातका धान उचित मूल्यमा खरिद गर्ने गरी अभियान सञ्चालन गरेको हो । स्थानीय किसानलाई उत्पादनको उचित मूल्य उपलब्ध गराउने र व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धान खरिद सुरु गरिएको सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले बताउनुभयो ।
सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार २०० रुपैयाँ, राधा–४ मोटो धान दुई हजार ८५० रुपैयाँ र हाइब्रिड धान दुई हजार ७५० रुपैयाँका दरले खरिद गरिरहेको जनाएको छ । धान बिक्री गर्न इच्छुक किसानले आफ्नो उत्पादन सहकारीको गोदाम वा सङ्कलन केन्द्रमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्तीसोनारी क्षेत्रका किसानलाई उत्पादनको बजारीकरण गर्न सहज हुने र बिचौलियाको निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट किसानको आर्थिक अवस्थामा समेत सुधार आउने विश्वास सहकारीले लिएको छ ।
राप्तीसोनारी–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य छन् । किसानबाट खरिद गरिएको धान भण्डारण गर्न राप्तीसोनारी–५ बिनौनास्थित गोदाममा आवश्यक व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष हुमाशंकर वलीले जानकारी दिनुभयो ।
सहकारीले धान खरिदसँगै बीउ उत्पादनमा पनि किसानलाई प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको बीउ धानसमेत सहकारीले खरिद गर्ने गरेको अध्यक्ष वलीले बताउनुभयो ।
किसानको उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले सहकारीले ५५ लाख रुपैयाँ लगानीमा यसै वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ समेत सञ्चालनमा ल्याएको छ । मिल सञ्चालनमा आएपछि राप्तीसोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी–पिसानीको सुविधा लिन सहज भएको छ ।
स्थानीय स्तरमै धान खरिद, प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न थप सहयोग पुग्ने अध्यक्ष वलीको विश्वास छ ।
यस वर्ष सरकारले बाँकेमा धान खरिदका लागि निर्धारण गरेको कोटा आधा घटाएर १० हजार क्विन्टलमा सीमित गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद कोटा घटाएपछि किसानले उत्पादन गरेको धान बिक्री गर्न समस्या भइरहेको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताउनुभयो ।
उहाँका अनुसार सरकारी खरिद कोटा सीमित हुँदा धेरै किसानले आफ्नो उत्पादन बिक्री गर्न बजार खोज्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सहकारीले गाउँमै धान खरिद सुरु गर्नु किसानका लागि राहतको विषय भएको उहाँले बताउनुभयो ।
सरकारी खरिद कोटा बढाएर तत्काल धान खरिद प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै किसान महासङ्घ बाँकेले अन्यथा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्