तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल : विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेरअघि भएको टसमा लम्बिनीका कप्तान रोहितकुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिनुभएको हो ।   

आजको खेल विराटनगरका लागि महत्त्वपूर्ण छ । लुम्बिनीलाई हराउन सके विराटनगरको प्लेअफ सम्भावना कायमै रहनेछ । पराजय व्यहोरेमा उसको प्लेअफ यात्रा समाप्त हुनेछ ।  

विराटनगर यो खेल जित्नै पर्ने दबाबमा छ । लुम्बिनीले भने एक खेलअगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । लुम्बिनीले छ खेल खेल्दा चारमा जित, एक खेलमा पराजय र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । लुम्बिनी अहिले तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरले छ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

जारी संस्करणमा अहिलेसम्म सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button