तपाईँ सुन्दै हुनुहुन्छः

पोखराका मुख्य ४ ठाउँमा छठ पर्व धुमधामका साथ मनाइने 

पोखरा । पर्यटकीय नगरी पोखरामा पनि यस वर्षको छठ पर्व मुख्य गरी ४ ठाउँमा सामूहिक रुपमा धुमधामका साथ मनाउने तयारी सुरु भएको छ । पोखराका विभिन्न छठघाटमा सरसफाइ, सजावट तथा आवश्यक व्यवस्थापनका काम अघि बढाइएको विभिन्न स्थानका छठ पूजा समितिहरूले जनाएका छन् ।

नदीपुरस्थित नारायणथान मन्दिर परिसर, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी गरी चार स्थानमा छठ पर्व विशेष उत्साहका साथ मनाउने तयारी गरिएको हो । उक्त स्थानमा सरसफाइदेखि छठ घाट निर्माण रंगरोगन, झिलिमिली बत्ती बाल्ने सम्मको काम भएको छ ।

नेपाल–भारत व्यवसायी संघ (एनबी) कास्कीका पूर्व अध्यक्ष भुनेस कुमारका अनुसार यस वर्ष पनि बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसरमा रहेको फेवाताल किनारको छठघाटमा धुमधामका साथ छठ माताको पूजा आराधना गर्ने तयारी गरिएको छ । त्यसका लागि छठ घाटको सरसफाइ सहित झिलिमिली बत्ती जडान गरिएको उहाँले बताउनुभयो । काम विशेष तथा पेसा व्यवसायका सिलसिलामा तराई–मधेसबाट पोखरा आएर बसोबास गर्ने समुदायले पनि आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक पर्व छठलाई यहाँ व्यवस्थित रूपमा मनाउन थालेपछि पोखरामा छठ पर्वको आकर्षण र सहभागिता बढ्दै गएको उहाँको भनाइ छ । 

त्यसैगरी, पोखरा नदीपुरस्थित नारायणथान मन्दिर परिसरमा रहेको छठघाटमा पनि पूजाको तयारी गरिएको छ । छठ पूजा समितिका विनोद गुप्ताका अनुसार शनिबार पञ्चमीका दिन छठ घाटको सरसफाइसँगै झिलिमिली बत्ती जडान तथा आवश्यक सजावटका काम गरिएको छ । उहाँका अनुसार पोखरामा करिब दुई दशकभन्दा अघिदेखि नारायणथान मन्दिर नजिकैको नहरबाट छठ पूजा गर्न सुरु गरिएको हो । सुरुवाती समयमा सीमित स्थानबाट सुरु भएको छठ पूजा अहिले पोखराका विभिन्न स्थानमा विस्तार हुँदै चारवटा मुख्य घाटसम्म पुगेको उहाँले बताउनुभयो ।

त्यस्तै, पोखराको रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी क्षेत्रमा पनि यस वर्ष छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको सम्बन्धित छठ पूजा समितिहरूले जनाएका छन्। चारवटै स्थानमा छठ घाटको सरसफाइ, सजावट, बत्ती व्यवस्थापन तथा व्रतालु र भक्तजनलाई सहज हुने गरी आवश्यक तयारी भइरहेको छ ।

चार दिनसम्म श्रद्धा, भक्ति र निष्ठापूर्वक मनाइने छठ पर्व सूर्यदेव र छठी माताको उपासनासँग सम्बन्धित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । पारिवारिक सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा कल्याणको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । पोखरामा व्यवस्थित रुपमा छठ पर्व मनाउन थालेसँगै पोखरा क्षेत्रमा रहेका तराई, मधेसका समुदायहरूले पोखरामै छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button