मन्त्री लम्सालद्वारा बुटवलका विभिन्न महत्वपूर्ण स्थलको अवलोकन

रुपन्देही । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र प्रतिनिधिसभा सदस्य सुलभ खरेलले आज बुटवल तथा रुपन्देही क्षेत्रका विभिन्न महत्वपूर्ण स्थलहरूको स्थलगत अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा उहाँहरूले लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण गर्दै अस्पतालको सेवा प्रवाह, भौतिक संरचना तथा आवश्यक पूर्वाधारका विषयमा जानकारी लिनुभएको छ। त्यसैगरी ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको जितगढी किल्लाको अवलोकन गर्नुभएको छ। नेपालको इतिहास, पहिचान र गौरवसँग जोडिएको जितगढीको संरक्षण, विकास तथा पर्यटन प्रवर्द्धनका विषयमा समेत चासो व्यक्त गर्नुभएको छ। यसै क्रममा सैनामैना क्षेत्रका विभिन्न स्थल तथा विकास निर्माणसँग सम्बन्धित योजनाहरूको पनि अवलोकन गरिएको छ।

बुटवल तथा रुपन्देही क्षेत्रको समग्र विकास, स्वास्थ्य सेवा, ऐतिहासिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधारको स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै सम्बन्धित क्षेत्रका समस्या र आवश्यकताबारे जानकारी लिने उद्देश्यले यो स्थलगत अवलोकन गरिएको रास्वपाका नेताहरूले बताउनुभएको छ ।
भ्रमणले स्थानीय आवश्यकता र विकासका सम्भावनाहरू पहिचान गरी सम्बन्धित निकायमार्फत आवश्यक पहल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको र रुपन्देहीको विकास, समृद्धि र पूर्वाधार निर्माणका मद्दत पुग्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्