तपाईँ सुन्दै हुनुहुन्छः

शासकीय व्यवस्थासम्बन्धी दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि शुरु

काठमाडौँ । सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थासम्बन्धी दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाण्डौँमा शुरु हुँदैछ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, नेपाल जनप्रशासन संघ र दक्षिण एसियाली सार्वजनिक प्रशासन सञ्जालको संयुक्त आयोजनामा हुनलागेको सम्मेलनको प्रमुख उद्देश्य दक्षिण एसियाका समसामयिक शासकीय चुनौतीहरूबारे प्राज्ञिक तथा नीतिगत विमर्शलाई प्रोत्साहित गर्नुका साथै सार्वजनिक संस्थाहरूलाई थप सक्षम, जबाफदेही, समावेशी र नागरिकप्रति उत्तरदायी बनाउन आवश्यक ज्ञान, अनुभव र नवीन अभ्यासहरू आदानप्रदान गर्नु रहेको छ । 

करिब १५ देशका ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा सदाचारिता, समावेशिता, सार्वजनिक विश्वास र राज्यको संस्थागत क्षमतामा छलफल हुने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । 

भोली देखि शुक्रवारसम्म चल्ने सम्मेलनमा सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थाका क्षेत्रमा क्रियाशील प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, अनुसन्धानकर्ता, विकास साझेदार, नागरिक समाजका प्रतिनिधि तथा सार्वजनिक प्रशासनका अभ्यासकर्ताहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button