तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाको निमित्त महासचिवमा दामोदर भट्टराईलाई नियुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निमित्त महासचिवमा दामोदर भट्टराईलाई नियुक्त गरिएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा शुक्रबार बसेको एन्फा कार्यसमितिको बहुमत सदस्यको बैठकले सहायक महासचिव भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेविरुद्ध विभिन्न मुद्दामा अभियोजन भएको अवस्थामा सङ्घको दैनिक कार्य सञ्चालन सहज बनाउन उक्त निर्णय गरिएको हो ।

त्यस्तै, फिफा, एएफसी, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एन्फालाई प्राप्त पत्राचार तथा त्यसको पछिल्लो अवस्थाबारे समन्वय गर्न उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

बैठकले एन्फा निर्वाचनका विषयमा फिफा, एएफसी र नेपाल सरकारबीच भौतिक उपस्थितिमा बैठक राख्न पहल गर्ने निर्णयसमेत गरेको छ । यसका लागि शुक्रबारदेखि नै आवश्यक प्रक्रिया अघि बढाउन सचिवालयलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button