तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान सञ्चालन

बाँके। बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको छ ।

गत साउनमा जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएपछि यसको थप फैलावट रोक्ने उद्देश्यले किसानका गोठमै पुगेर खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी भोजबहादुर रावलका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा पशु स्वास्थ्य प्राविधिक परिचालन गरी खोप लगाउने काम भइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत केन्द्रले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अभियान सञ्चालन गरेको हो । किसानलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्राविधिक टोलीले घरदैलो तथा गोठमै पुगेर गाईवस्तुलाई खोप लगाइरहेको सूचना अधिकारी रावलले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका खजुरा, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाले भने हालसम्म लम्पी स्किनविरुद्ध खोप अभियान सञ्चालन गर्न चासो देखाएका छैनन् ।

लम्पी स्किन गाईभैंसीमा लाग्ने भाइरल सङ्क्रामक रोग हो । पक्सभाइरिडी परिवारअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण हुने यस रोगबाट पशुमा ज्वरो आउने, छालामा गिर्खा देखिने तथा दूध उत्पादन घट्नेजस्ता समस्या निम्तिन सक्छन् ।

पशु स्वास्थ्य विज्ञहरूका अनुसार रोगको सङ्क्रमण फैलिन नदिन खोप लगाउनु प्रभावकारी रोकथामको उपाय हो । समयमै खोप लगाउनुका साथै सङ्क्रमित पशुलाई स्वस्थ पशुबाट अलग राख्ने र गोठको सरसफाइमा ध्यान दिनु आवश्यक छ ।

पशुमा रोगको सङ्क्रमण नियन्त्रण गरी किसानको आर्थिक क्षति न्यूनीकरण गर्न सबै स्थानीय तहले समन्वय र सक्रियता बढाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button