तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनद्वारा निन्दा

पेरिस। फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको निन्दा गर्दै आवश्यक परे प्रदर्शन  र्‍यालीमा प्रतिबन्ध लगाउने बताउनुभएको छ । तर उहाँले आपत्कालीन अवस्था वा कर्फ्यु घोषणा गर्नुभएको छैन ।

गृह मन्त्रालयका अनुसार शनिवारको प्रदर्शनका क्रममा करिब दुई हजार चार सय जना पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सैनिक प्रहरी घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्था गम्भीर छ । प्रदर्शनका क्रममा नगरपालिकाका भवनमा आगजनी तथा सयौँ व्यवसायमा लुटपाट र तोडफोड भएको छ ।

म्याक्रोनले वैध माग राखेर प्रदर्शन गर्ने र हिंसा तथा लुटपाटमा संलग्न हुनेहरूबिच भिन्नता गर्नुपर्ने बताउनुभयो । उहाँले सहरहरूमा अनियन्त्रित हिंसा फैलाउने अपराधी तथा अतिवामपन्थी समूहविरुद्ध कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आइतबार पेरिसमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र स्तब्ध पार्ने ग्रेनेड प्रहार गरेको थियो । अधिकारीहरूका अनुसार प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार भएको थियो । राजधानीमा १०८ जना पक्राउ परेका छन् भने रिपब्लिक स्क्वायर आसपास कम्तीमा पाँच पसल लुटिएका छन् । लियोनमा पनि पसल लुट्ने प्रयासका क्रममा झडप भएको छ ।

आगामी राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भएको हिंसाले राजनीतिक बहससमेत चर्काएको छ । दक्षिणपन्थी नेसनल  र्‍याली पार्टीकी नेतृ मरिन ले पेनले घटनाले म्याक्रोनको प्रशासन कमजोर र दिशाहीन भएको देखाएको टिप्पणी गर्नुभएको छ । कट्टर वामपन्थी नेता जिन–लुक मेलेनचोनले पनि अवस्था नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिनुभएको छ । म्याक्रोनले भने हिंसाको सट्टा बहसमा आधारित निर्वाचन हुनुपर्ने बताउनुभयो ।

प्रदर्शनमा मजदुर सङ्गठन, ‘यल्लो भेस्ट’ आन्दोलनका सहभागी र विद्यार्थी सहभागी भएका थिए । उनीहरूले जीवनयापनको बढ्दो लागत तथा युवाहरूको भविष्यप्रतिको चिन्ता व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हिंसाका लागि आप्रवासनलाई दोष दिनुभएको छ ।

म्याक्रोनले प्रभावित व्यवसायलाई सहयोग गर्ने र सुरक्षा निकायको कारबाहीबारे पारदर्शिता अपनाउने बताउनुभयो । उहाँले गृहमन्त्री लरेन्ट नुनेजलाई विशेषगरी सुरक्षा सूचना सङ्कलन र घटनाको पूर्वानुमानमा देखिएका कमजोरीबाट आवश्यक पाठ सिक्न निर्देशन दिनुभएको छ ।

लिमोजिसमा १९औँ शताब्दीमा निर्मित नगरपालिकाको भवन आगलागीमा नष्ट भएको छ भने लियोनको पर्यटक सूचना कार्यालयमा पनि आगजनी गरिएको छ । सेन्ट–एटिनेमा भिड नियन्त्रणका क्रममा प्रयोग गरिएको ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात उडेको छ । मुलहाउसमा १७ वर्षीया किशोरीले आँखाको दृष्टि गुमाएको अभियोजनकर्ताहरूले बताएका छन् । रासस/एएफपी

(((

प्रतिक्रिया राख्नुहोस्

Back to top button