शान्ति सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा नेपाल प्रहरीको योगदान अतुलनीय: मुख्यमन्त्री यादव

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक सुरक्षा तथा विपद् व्यवस्थापनमा नेपाल प्रहरीको योगदान अतुलनीय रहेको बताउनुभएको छ। ७1 औँ प्रहरी दिवस २०८३ को अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले जनकपुरधाममा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सो कुरा बताउनुभएको हो।

सम्बोधनका क्रममा उहाँले नेपाल-भारत खुला सीमानाका कारण सिर्जित हुनसक्ने सीमा अपराध, लागूऔषध ओसारपसार, अवैध हातहतियारको तस्करी तथा मानव बेचबिखन जस्ता आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले थप संवेदनशील र सतर्क भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। बदलिँदो समयसँगै थपिएका नयाँ प्रकृतिका अपराध नियन्त्रणका लागि नेपाल प्रहरीलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउनु आवश्यक रहेको धारणा राख्दै मुख्यमन्त्री यादवले प्रदेश प्रहरीको मनोबल उच्च राख्न प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। साथै, हालै विराटनगरमा सम्पन्न मुख्यमन्त्रीहरूको सम्मेलनले संविधानले प्रदान गरेको प्रहरीसम्बन्धी अधिकार प्रदेशमा स्थापित गर्न शीघ्र प्रहरी समायोजन हुनुपर्ने निष्कर्ष निकालेको उल्लेख गर्दै उहाँले दशैँ, तिहार र छठ पर्वपछि यस विषयमा सङ्घ सरकारलाई थप दबाब दिने जानकारी दिनुभयो।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको प्रत्याभूति दिलाउन प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। प्रदेशमा शान्ति सुव्यवस्था सुदृढ बनाउन मधेश प्रदेश सरकारले प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा स्रोत-साधन व्यवस्थापनका लागि वार्षिक रूपमा बजेट र सहयोग उपलब्ध गराउँदै आएको उहाँको भनाइ थियो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले नेपाली जनताको घरदैलोमै पहुँच रहेको नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षाका क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको बताउनुभयो। त्यस्तै, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (DIG) ओम प्रसाद अधिकारीले सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव बिर्गान खोज्ने तत्त्वविरुद्ध प्रदेशभर ‘अपरेसन साइबर अपराध नियन्त्रण’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
समारोहमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा मधेश प्रदेशभर सर्वोत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक (Inspector) विश्वम्भरनाथ साहलाई मुख्यमन्त्री यादवले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मानित गर्नुभयो। त्यसैगरी, महिला हिंसाविरुद्ध सचेतनामूलक टिकटक भिडियो निर्माणमा प्रथम हुन सफल सप्तरीका कलाकार जुगेश्वर यादव, विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने मौलापुर, रौतहटमा कार्यरत प्रहरी निरीक्षक भरत केसीलाई नगद तथा सम्मानपत्रसहित सम्मानित गरियो। समारोहमा अमर प्रहरीका परिवारजन, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी सेवामा उत्कृष्ट योगदान पुर्याउने प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्रद्वारा सम्मानित गरिएको थियो।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका कार्यवाहक प्रमुख परमेश्वर साह र मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (SSP) प्रभुप्रसाद ढकाललगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो। समारोहको सुरुआतमा मुख्यमन्त्री यादवले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।








प्रतिक्रिया राख्नुहोस्