कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम
किन्शासा। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि नयाँ सङ्क्रमण केन्द्र देखिनु र छिमेकी देशमा फैलिनुले महामारी नियन्त्रणमा चुनौती थपिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्क्रमण घटेको तथ्याङ्कलाई सावधानीपूर्वक लिन आग्रह गरेका छन् ।

कङ्गोका स्वास्थ्य अधिकारीका अनुसार अक्टोबर ६ सम्ममा आठ हजार ७२८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार २०५ जनाको मृत्यु भएको छ । मे महिनाको मध्यमा प्रकोप घोषणा भएयता सात प्रान्तका ६४ स्वास्थ्य क्षेत्रमा सङ्क्रमण फैलिएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारी वेसम मानकोलाका अनुसार पछिल्ला तीन सातामा इटुरी प्रान्तमा सङ्क्रमण २४ प्रतिशत र उत्तरी किभुमा १९ प्रतिशतले घटेको छ ।
तर, असुरक्षा र स्थानीय समुदायको असहयोगले सङ्क्रमणको निगरानी तथा विवरण सङ्कलनमा बाधा पुर्याएकाले वास्तविक अवस्था फरक हुन सक्ने उहाँले बताउनुभयो । प्रभावित ६४ स्वास्थ्य क्षेत्रमध्ये ४७ वटामा अझै सक्रिय सङ्क्रमण छ । इबोलाबाट हुने ६० देखि ७० प्रतिशत मृत्यु स्वास्थ्य संस्थाबाहिर हुने गरेको र सम्पर्कमा आएका व्यक्तिको पहिचानमा कमजोरी रहेको अधिकारीहरूले बताएका छन् ।
यसैबिच, केन्यामा पहिलो पटक बाहिरबाट भित्रिएको इबोला सङ्क्रमण पुष्टि भएपछि क्षेत्रीय जोखिम बढेको छ । कङ्गोमा बस्दै आएका ४० वर्षीय केन्याली व्यापारीमा सङ्क्रमण पुष्टि भएको थियो । उनी सेप्टेम्बरमा बिरामी परेको र अक्टोबर ३ मा युगान्डा हुँदै नैरोबी पुगेका थिए । सोमबार उनको मृत्यु भएको थियो । केन्याका अधिकारीले कम्पालाबाट नैरोबी गएको उडानका यात्रु तथा चालक दलका सदस्यसहित ५५ जनालाई निगरानीमा राखेका छन् । कङ्गो, युगान्डा र केन्याले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको पहिचान गर्न सहकार्य गरिरहेका छन् ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले निगरानी र समुदायसँगको सहकार्यमा सुधार भए पनि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी पर्याप्त नभएको बताउनुभएको छ । उहाँले केन्याले सङ्क्रमणबारे तत्काल जानकारी गराएकोमा प्रशंसा गर्दै पारदर्शितालाई दण्डित नभई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । दुवै स्वास्थ्य निकायले यात्रा प्रतिबन्धको सट्टा स्वास्थ्य परीक्षण, शीघ्र पहिचान र सूचनाको आदानप्रदानमा जोड दिएका छन् ।
बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध हालसम्म विशेष खोप वा उपचार स्वीकृत भएको छैन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको प्रारम्भिक परीक्षण अक्टोबर ६ मा युगान्डामा सुरु भएको छ भने मोडर्नाले विकास गरेको अर्को खोपले परीक्षणका लागि नैतिक स्वीकृति पाएको छ । कङ्गोले जाइर इबोला भाइरसविरुद्ध स्वीकृत एरभेबो खोपको ७० हजार मात्रा प्राप्त गरे पनि त्यो बुन्डिबुग्यो भाइरसविरुद्ध प्रभावकारी प्रमाणित भएको छैन ।
अक्टोबर ७ सम्ममा सात हजार ७७५ स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइएको छ । थप ८४८ जनाले अनुसन्धान कार्यक्रम अन्तर्गत खोप पाए पनि आपूर्तिको अभावमा उक्त कार्यक्रम स्थगित भएको छ । प्रयोगात्मक उपचारको परीक्षणमा ६५४ जना सहभागी छन् ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यो अभिलेखमा सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला प्रकोप हो । यो विश्वकै दोस्रो ठूलो र कङ्गोमा अहिलेसम्मकै ठूलो प्रकोप हो । मानवीय सङ्कट जारी रहेकाले नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा अधिकारीहरूले जोड दिएका छन् । रासस/सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्