तपाईँ सुन्दै हुनुहुन्छः

हिउँ पहिरोमा परि मृत्यु भएकाको शव परिवारलाइ बुझाइयो 

गोरखा । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ आधार शिविरमा गएको हिउँपहिरोमा परी ज्यान गुमाएका गोरखाका वीरेन्द्र गुरुङको शव परिवारलाई बुझाइएको छ।

आरोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका धार्चे गाउँपालिका–२ केरौँजाका ३२ वर्षीय वीरेन्द्र गुरुङको शव हेलिकोप्टरमार्फत गाउँ पुर्‍याएर आफन्तको जिम्मा लगाइएको स्थानीय सूर्यबहादुर गुरुङले जानकारी दिनुभयाे। शव हस्तान्तरणसँगै केरौँजाबासीले गुरुङ परम्परा र संस्कृति अनुसार उनको अन्त्येष्टि गरेका छन्।

हिमालयन होलिडेज कम्पनीमार्फत आधार शिविर पुगेका वीरेन्द्र गत आइतबार गएको हिउँपहिरोमा परी बेपत्ता भएका थिए। उनको शव सोमबार फेला परेको थियो।

यसैगरी, सोही हिउँपहिरोमा परी ज्यान गुमाएका धार्चेकै ४५ वर्षीय आशबहादुर गुरुङको शव बुधबार दिउँसो फेला परेको छ। उनको शव भने पोस्टमार्टम तथा आवश्यक प्रक्रियाका लागि काठमाडौँ ल्याइएको छ।

इमेजिन नेपाल एक्सपिडिसन प्रालिमार्फत गाइड तथा कुकम्यानका रूपमा काम गर्न आशबहादुर आधार शिविर पुगेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button