तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाका कारण धापाखेलमा घर पल्टियो, मानवीय क्षति भएन

ललितपुर । पछिल्लो वर्षाका कारण ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुईतले घर पल्टिएर क्षति भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार सोवितकुमार थापाको घर आज बिहान चिप्लिएर खोलामा पुगेको हो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

प्रवक्ता मिश्रका अनुसार महानगरपालिका–२४ को कार्यालय नजिकै तीन आनामा बनेको साढे दुईतले घर जोखिममा रहेको देखिएपछि आइतबार नै घरमा रहेका सबै सामान निकालिएको थियो ।

यसअघि आइतबार दिउँसो घरसँगै जोडिएको ट्रसको भान्साघर करिब २० मिटर तल खसेपछि घर जोखिममा परेको थियो । त्यसलगत्तै घरमा बस्दै आएका थापाका परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।

घर चिप्लिएर खोलामा खसेपछि थुनिएको खोला खुलाउन तथा थप जोखिम न्यूनीकरणका लागि प्रहरी टोली परिचालन गरिएको थियो । घर पल्टिएपछि पश्चिमतर्फ नजिकै रहेको अमृता सुनुवारको घरसमेत खाली गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button