तपाईँ सुन्दै हुनुहुन्छः

जिरी नगरपालिकाको एक जनामा कोभिड संक्रमण पुष्टि

दोलखा । दोलखाको जिरी नगरपालिका वडा नम्बर– ९ मा एक  शिक्षिकालाई कोभिड– १९ संक्रमण पुष्टि भएको छ । केही दिन अघि काठमाडौँ पुगेर फर्किएको उनलाई रुघा, खोकी, ज्वरो, जिउ दुख्ने लगायतका समस्या देखिए पछि स्वाब परिक्षण गर्दा कोभिड– १९ संक्रमण पुष्टि भएको जिरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दहालले बताए ।

वडा नम्बर– ९ ठूलो पातलको एक विद्यालयमा भदौ २७ गते सुरुमा दुई जना शिक्षकलाई रुघा, खोकी, ज्वरो जस्ता समस्या देखिएको र त्यो समस्या विद्यार्थी तथा अभिभावकहरूमा समेत देखिएपछि असोज ४ गतेबाट उक्त विद्यालय बन्द गरिएको थियो । 

ठूलो पातलमा इन्फ्लुएन्जा देखिएको जानकारी आएपछि जिरी नगरपालिकाबाट डक्टर सहितको टोली पुगेर शिक्षक, विद्यार्थी र अभिभावक सहित ७ जनाको स्वाब परिक्षण गर्दा एक जना महिला शिक्षकमा कोभिड– १९ संक्रमण पुष्टि भएको नगरपालिकाको जनस्वास्थ्य अधिकृत सुस्मीता रिमालले बताईन । ७ जनाको स्वाब परिक्षण गरिएकोमा ५ जनामा भने इन्फ्लुएन्जा देखिएको थियो ।

७ जना बिरामीको स्वाब सङ्कलन गरी असोज ६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा असोज ९ गते शुक्रवार एक जनामा कोभिड– १९ संक्रमण देखिएको बारे जानकारी प्राप्त भएको थियो । 

कोभिड– १९ संक्रमण पुष्टि भएको महिला शिक्षकमा अहिले कुनै लक्षण नदेखिएको र उनी पूर्णरुपमा स्वस्थ रहेको जनस्वास्थ्य अधिकृत रिमालले बताईन । अहिले उनलाई होम आइसोलेसनमा राखिएको र ऊनीसँग नजिक रहेका केहीलाई रुघा, खोकी, ज्वरोको सामान्य समस्या देखिएपछि उनीहरूलाई पनि होम आइसोलेसनमा राखेर निगरानी गरिरहेको जिरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जिरी नगरपालिका वडा नम्बर– ९ को ठूलो पातल, लेख खर्क र सल्लेमा डेंगु, स्क्रफ टाईफस र इन्फ्लुएन्जाको लक्षण भएका बिरामी देखिएको तर कसैलाई पनि अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था भने नरहेको जनस्वास्थ्य अधिकृत रिमालले बताईन । नगरपालिकाको अन्य केही ठाउँमा भने डेंगु र स्क्रफ टाईफसका बिरामी मात्र देखिएको उनको भनाई छ । 

सुरु–सुरुमा संक्रमण देखिएका बिरामी ठिक भएको र केही नयाँ बिरामीहरू देखिएकोले कनट्याक्ट ट्रेसिङको काम भइरहेको जिरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रिमालले बताइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button