विराटनगरमा मुख्यमन्त्री सम्मेलनको आयोजना हुने
विराटनगर । आगामी असोज २२ र २३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी हुनुहुने छ ।

त्यसका लागि कोशी प्रदेश सरकारले सम्मेलनको आवश्यक तयारी सुरु गरिसकेको छ । प्रदेशमा देखिएका समस्या र सङ्घीयतालाई बलियो बनाउनका लागि अपनाउनुपर्ने विषयहरूमा मुख्यमन्त्री सम्मेलनमा छलफल हुनेछ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयतामा देखिएका चुनौती र असल अभ्यासहरूका बारेमा छलफल गरी प्रदेशमा आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्नका लागि मुख्यमन्त्री सम्मेलन आयोजना गरिन लागिएको बताउनुभयो ।
कोशी प्रदेश योजना आयोगलाई मुख्यमन्त्री सम्मेलनको आवश्यक तयारी र समन्वय गर्न जिम्मेवारी दिएको छ । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय भइसकेको जानकारी दिँदै सम्मेलनमा योजना आयोगका उपाध्यक्षहरू, मुख्य न्यायाधिवक्ता र सरकारी अधिकारीहरू सहभागी हुने बताउनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले २२ गते सबै मुख्यमन्त्रीहरूको उपस्थितिमा कार्यक्रम उद्घाटन हुने र त्यसपछि असल अभ्यासहरूको बारेमा छलफल हुने जानकारी दिनुभयो ।
कार्यक्रमको तालिकामा प्रदेशको पर्यटन प्रवर्द्धन गर्नका लागि मुख्यमन्त्रीहरूलाई नजिककै गन्तव्यहरू भ्रमण गराउने कार्यक्रम समेत रहेको छ । उपाध्यक्ष निरौलाले पहिलोपटक हुन लागेको यो सम्मेलनले नियमित रुपमा मुख्यमन्त्रीहरूको सम्मेलन गर्ने र समन्वय गर्ने फोरम बनाएर अगाडि बढाउने तयारी समेत गरिएको जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद भट्टले सम्मेलनका क्रममा प्रदेश र बहु प्रदेशबीच साझेदारीका विषयमा छलफल हुने भएकाले यो निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका उत्पादनलाई अन्य प्रदेशमा लैजान या अन्य प्रदेशका उत्पादनलाई कोशी प्रदेशमा ल्याउन र व्यापार प्रवर्द्धन गर्न समझदारीहरू गरिने बताउनुभयो ।
पर्यटन प्रवर्द्धनका सम्भावनाहरू का विषयमा पनि दुई प्रदेशहरूबिच साझेदारी र सहकार्य गर्ने तयारी समेत गरिएको छ । कार्यक्रमको तयारीका लागि आवश्यक समिति र कार्य विभाजन समेत गरेर कोशी प्रदेश योजना आयोगले काम सुरु गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्