अविरल वर्षाले गोरखामा बाढी र पहिरोको जोखिम, सामागाउँबाट रोकिएका पर्यटकको उद्धार सुरु
गोरखा । केही दिनदेखि परेको अविरल वर्षाका कारण गोरखा जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ। वर्षाका कारण उत्तरी गोरखाका ग्रामीण बस्ती, सडक र पुल प्रभावित भएका छन् भने तल्लो क्षेत्रमा पहिरो खस्दा स्थानीयवासी त्रसित बनेका छन्।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नामारुङस्थित थेराङ खोलामा आएको बाढीले मुख्य आवतजावत गर्ने पुल बगाएपछि स्थानीयको जनजीवन प्रभावित भएको छ। पुल बगेसँगै आवतजावत र अत्यावश्यक सामग्री ओसारपसारमा समस्या उत्पन्न भएको छ।
प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ। प्रहरीले पुलको क्षति, बस्तीको अवस्था र सम्भावित जोखिमको विवरण सङ्कलन गरिरहेको र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको श्रेष्ठले जानकारी दिनुभयो।
यसैगरी, जिल्लाको तल्लो क्षेत्र सहिदलखन गाउँपालिका–४ राइनास बजार तथा वडा नम्बर ८ सिमलगैरीमा माथिल्लो भागबाट पहिरो खस्दा करिब २५ घरधुरी उच्च जोखिममा परेका छन्।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जोखिममा रहेका स्थानमा प्रहरी र स्थानीयको सहकार्यमा त्रिपाल टाँग्ने, पानीको बहाव मोड्ने र पहिरो रोक्न अस्थायी व्यवस्थापनका काम भइरहेका छन्। आजै प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायको टोलीले राइनास क्षेत्रको पहिरोको स्थलगत निरीक्षणसमेत गरेको छ।
चार दिनदेखि सामागाउँमा रोकिएका पर्यटकको उद्धार
यसैबीच, मौसममा सुधार आएसँगै उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा चार दिनदेखि रोकिएका पर्यटकको उद्धार सुरु भएको छ। मनास्लु क्षेत्र भ्रमण तथा पदयात्रामा पुगेका पर्यटकहरू खराब मौसमका कारण उडान हुन नसक्दा रोकिएका थिए।
मौसम खुलेपछि सिम्रिक र एभरेस्ट एयरका हेलिकप्टरमार्फत उनीहरूलाई प्राथमिकताका आधारमा काठमाडौँ ल्याउन थालिएको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाले नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, विपद्को अवस्था आए तत्काल उद्धार र राहतका लागि सुरक्षा निकाय तथा स्थानीय तहलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्