देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काँग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
काठमाडौँ। नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुनेछन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार विगत दुई दिन अत्यधिक वर्षा भएको र आज तथा भोलि पनि भारी वर्षा हुने पूर्वानुमानका आधारमा असोज १३ गतेभित्र अनुकूलताअनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिइएको छ । निर्वाचन समितिले विकल्प दिएपछि विशेषगरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरुद्ध बनेका केही निर्वाचन क्षेत्रमा आइतबार र सोमबार अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकीमा सोमबार तथा मङ्गबारसम्ममा अधिवेशन सम्पन्न हुने गरी तालिका बनाइएको छ । उहाँका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको छ । सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् ।
पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । पदेन सदस्यलाई मतदान गर्ने अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार भने नहुने कांग्रेसको विधानमा उल्लेख रहेको समितिका सदस्य सचिव कटुवालले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ ।
यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन । यस्तै, कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ । ती १८ जनामध्ये दुवै प्रदेशसभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीन-तीन जनाका दरले क्षेत्र ‘क’ र ‘ख’ बाट कुल छ जना निर्वाचित हुनेछन् । त्यसैगरी खुलातर्फबाट एक महिलासहित चार, युवामध्येबाट एक महिलासहित दुई, जनसङ्ख्याका आधारमा समानुपातिकतर्फबाट छ जना निर्वाचित हुनेछन् भने अन्य छ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था रहेको कटुवालले उल्लेख गर्नुभयो ।
क्षेत्रीय अधिवेशनबाटै चयन हुने महाधिवेशन प्रतिनिधिमा भने महिला चार, खुला १०, एक महिलासहित तीन युवा, जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन् । साथै श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसङ्ख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक(एक जना चयन हुने व्यवस्था गरिएको छ । यसरी हरेक सङ्घीय निर्वाचन क्षेत्रबाट ३३ जना सङ्घीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।
सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक र जनसङ्ख्याका आधारमा बाँडफाँट हुने समानुपातिकतर्फ चार गरी कूल १२ जना छनोट हुनेछन् । त्यसैगरी आजै हुने प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवैतर्फका लागि प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ ।
प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुने निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार कोषाध्यक्ष भने प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा एक जनालाई मनोनयन गर्ने व्यवस्था छ ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा दुई महिला, एक दलित, एक युवा, तीन खुला र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फबाट छ जना निर्वाचित हुनेछन् । यसबाहेक थप सात जनालाई कार्यसमितिमा मनोनयन गर्न पाइनेछ । सोही अधिवेशनले प्रदेश प्रतिनिधिका रूपमा दुई महिला, आठ खुला, एक महिलासहित दुई युवा, जनसङ्ख्याका आधारमा हुने समानुपातिकतर्फ छ जना चयन गर्नेछ ।
त्यसैगरी, पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक-एक जनालाई प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ । कांग्रेसको अधिवेशन शृङ्खला यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको र अब क्षेत्रीय अधिवेशन सकिएलगत्तै केन्द्रीय महाधिवेशन हुन लागेको छ । केन्द्रीय महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा सम्पन्न गर्ने गरी तीव्र तयारी भइरहेको काँग्रेसले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्