दसैँ नजिकिँदै गर्दा नेपालगञ्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ
बाँके। नेपालीको महान् चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म यतिबेला विभिन्न देवीदेवताका आकर्षक माटाका मूर्ति देखिन थालेका छन् ।
तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोलटोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजाअर्चना गर्ने पुरानो परम्परा रहेकाले मूर्तिकारलाई दसैँअघि काम सक्ने चटारो परेको हो । नेपालगञ्जमा मूर्तिकार तथा उनका सहयोगी दिनरात नभनी मूर्ति निर्माण, साजसज्जा र रङरोगनमा व्यस्त छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–८ का अङ्कित मिश्र एक महिनाअघिदेखि नै दुर्गा भवानीका मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । मूर्तिले आकार लिइसकेपछि अहिले उहाँसहितका सहयोगी साजसज्जा र रङरोगनमा जुटेका छन् । पराल, बाँस, माटो, भुस र दाउराको प्रयोग गरी तयार पारिएका मूर्तिमा देवीदेवताका वाहन तथा अस्त्रशस्त्र सजाउने काम अन्तिम चरणमा पुगेको मिश्रले बताउनुभयो ।
“दुर्गा, लक्ष्मी, गणेश, कार्तिकेयसँगै बाघ, मुसा, राँगा र सर्पका आकृति तयार भइसकेका छन्,” उहाँले भन्नुभयो, “ग्राहकले एक महिनाअघिदेखि नै अर्डर गर्ने भएकाले समयमै काम सक्न चटारो छ ।” मूर्ति सजावटका सामग्री तथा आवश्यक औजार भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ल्याउने गरिएको उहाँले बताउनुभयो ।
नेपालगञ्ज–६ का सन्दीपकुमार वंसकारको दैनिकी पनि यतिबेला माटोसँगै बितिरहेको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएका वंसकारले सडक किनारको अस्थायी टहरामा सयौँ मूर्ति तयार पारिरहनुभएको छ । उहाँका अनुसार एउटा मूर्ति रु २० हजारदेखि रु २५ हजारसम्ममा बिक्री हुने गरेको छ । एउटा मूर्तिबाट करिब रु चार हजारदेखि पाँच हजारसम्म नाफा हुने उहाँ बताउनुहुन्छ ।
वंसकारले आफूले मात्र नभई अन्य छ जनालाई समेत रोजगारी दिनुभएको छ । उहाँका अनुसार कामदारलाई रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिने गरिएको छ ।
मूर्तिकारहरूका अनुसार संगठित सङ्घसंस्थाको अभाव तथा मूर्तिको मूल्य निर्धारणका लागि निश्चित दररेट नहुँदा व्यवसाय सञ्चालनमा केही समस्या छ । एउटै प्रकृतिका मूर्तिको मूल्यसमेत ग्राहक, आकार र सजावटअनुसार फरकफरक हुने गरेको छ । नियमित तथा चिनेजानेका ग्राहकलाई छुट दिँदा कतिपय अवस्थामा लागतअनुसारको मूल्यसमेत नपाउने अवस्था रहेको वंसकारले बताउनुभयो ।
बाँकेको नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा र नरैनापुर क्षेत्रमा दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने परम्परा छ । विभिन्न टोलमा समुदाय मिलेर रकम सङ्कलन गरी वा व्यक्तिगत खर्चमा नवदुर्गा भवानीका मूर्ति स्थापना गर्ने गरिन्छ ।
स्थानीय अगुवा सन्तोषकुमार कनोडियाका अनुसार टोलमा देवीको मूर्ति स्थापना भएसँगै बगियामा रामलीला सुरु हुने र त्यसपछि दसैँको रौनक थप बढ्ने गरेको छ । “मूर्ति स्थापना र रामलीला यहाँको दसैँसँग जोडिएको पुरानो सांस्कृतिक परम्परा हो,” उहाँले भन्नुभयो ।
नवरात्रभर विधिवत् पूजाअर्चना गरिएका मूर्ति दसैँको भोलिपल्ट बाजागाजासहित नजिकैको राप्ती नदीमा लगेर धूमधामका साथ विसर्जन गर्ने गरिन्छ । यससँगै नेपालगञ्ज र आसपासका क्षेत्रमा दसैँको धार्मिक तथा सांस्कृतिक गतिविधिले थप गति लिने गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्