तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढीबाट विस्थापितहरूको स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको छः मन्त्री पोखरेल

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढीबाट विस्थापितहरूको स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको बताउनुभएको छ । 

मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री पोखरेलले बाढी प्रभावितहरूको अस्थायी आवासका लागि सुरक्षित स्थानको खोजी भइरहेको बताउनुभयो । 

मन्त्री पोखरेलले बाढी प्रभावितको शिक्षा, स्वास्थ्य उपचार लगायतका विषयमा समेत सम्बन्धित मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

यसैबीच सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजारमा सूचीकरण भएका निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ ।

धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हित निसर्गबाट प्राप्त लाभमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको ७.५ प्रतिशत अग्रिम करलाई घटाएर ३.५ प्रतिशत कायम गरिएको मन्त्री पोखरेलले बताउनुभयो ।

त्यस्तै ३ सय ६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको १० प्रतिशत अग्रिम करलाई घटाएर ५ प्रतिशतमा झारिएको छ ।

यस्तै बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली २०८३’ स्वीकृत गर्ने, नेपाल न्याय सेवा, न्याय समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू फणिन्द्र गौतम, रामप्रसाद भट्टराई र बाबुराम दाहाल तथा प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । 

यसैगरी मन्त्रिपरिषद् बैठकले साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिई प्रक्रिया अगाडि बढाउने सम्बन्धी आदेश जारी गर्ने,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सक्रिय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button