तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा भन्सार छलीको झण्डै ९५ लाखका मोबाइल सामग्री बरामद

नवलपरासी। नवलपरासी पश्चिमको सीमा क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा मोबाइलका सामग्री बरामद भएको छ। प्रहरीले सरावल गाउँपालिका ७ भूजहवाबाट  ९४ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका मोबाइल एअरपोड्स, टेम्पर ग्लास, मोबाइल कभरलगायतका सामग्री बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल भूजहवा बीओपीबाट खटिएको संयुक्त टोलीले लु ३ च २९३९ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त सामान फेला पारेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार बरामद सामग्रीमध्ये २२ लाख ९४ हजार रुपैयाँ मूल्य बराबरका २ हजार २९४ थान मोबाइल एअरपोड्स, ७० लाख ९५ हजार रुपैयाँ बराबरका ४४ हजार ३ सय थान टेम्पर ग्लास, ९३ हजार रुपैयाँ बराबरका ९ सय ३० थान मोबाइल कभर र २ हजार रुपैयाँ मूल्यको एक बोरा प्लास्टिक रहेका छन्।

बरामद सामग्रीको कुल मूल्य ९४ लाख ८४ हजार रुपैयाँ कायम गरिएको छ। पिकअप गाडीको मूल्य २० लाख रुपैयाँसमेत जोड्दा बरामद सामान र सवारीसाधनको कुल मूल्य १ करोड १४ लाख ८४ हजार रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गस्ती टोलीलाई देखेपछि चालक तथा सामान ओसारपसारमा संलग्न व्यक्ति गाडी लक गरी फरार भएका थिए। घटनामा संलग्न व्यक्ति र बरामद सामग्रीको वास्तविक धनीबारे अनुसन्धान भइरहेको छ।

बरामद सामग्री तथा पिकअप गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button