तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी प्रिमियर कप क्रिकेट: नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

काठमाडौँ I मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलार्ई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ । 

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन । 

त्यस्तै बसिर अहमदले ४७ रन बनाउँदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३/३ विकेट लिए । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले समान १/१ विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button