तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी शहीद दिवस : प्रविधि, नवप्रवर्तन र नयाँ सोचसहितको नेपाल निर्माणमा अघि बढ्न आह्वान

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आज नेपालले पहिलोपटक जेनजी शहीद दिवस मनाउँदैछ।

दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालमार्फत शहीदहरूको योगदानको स्मरण गर्दै प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोचसहित अघि बढ्न आह्वान गरेको छ।

प्रधानमन्त्री कार्यालयले प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच बोकेका शहीदहरूको योगदान अतुलनीय रहेको उल्लेख गरेको छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न दिवसले सबैलाई प्रेरणा दिने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ।

२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन भ्रष्टाचार, राजनीतिक बेथिति, सुशासन र सरकारी जवाफदेहिताको मागसँगै सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा देशव्यापी रूपमा फैलिएको थियो। आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएको थियो।

आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो भने त्यसपछि अन्तरिम सरकार गठन भएको थियो। जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सरकारले शहीद घोषणा गरेको छ र हरेक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको हो।

सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।

जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र सार्वजनिक सेवा सुधारका विषय अहिले पनि नेपालको राजनीतिक तथा प्रशासनिक बहसका महत्वपूर्ण मुद्दा बनेका छन्।

प्रधानमन्त्री कार्यालयको सन्देशमा अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा प्रविधिसँग जोडेर नयाँ नेपाल निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button