तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परेर सल्यानमा १७ वर्षीय किशोरको मृत्यु

सल्यान ।राप्ती राजमार्गअन्तर्गत सल्यान–दाङ सडकखण्डको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरोमा परेर १७ वर्षीय किशोरको मृत्यु भएको छ।

मंगलबार राति पैदल पहिरो पार गर्ने क्रममा माथिबाट एक्कासि खसेको पहिरोमा पर्दा त्रिवेणी गाउँपालिका–३ लोटाउनेका १७ वर्षीय मदन पुन गम्भीर घाइते हुनुभएको थियो।

घाइते पुनलाई तत्काल उद्धार गरी सल्यानको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो। उहाँको टाउको, छाती, हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कान्तिपुर सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पुनलाई सल्यान जिल्ला अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले राति करिब १ बजेर १० मिनेटमा उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो।

मृतक पुनको शव जिल्ला अस्पताल सल्यानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

सोही घटनामा त्रिवेणी गाउँपालिका–३ कै करिब १८ वर्षीय सुनिल थापा घाइते भएका छन्। उनको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button