ताप्लेजुङ गोल्डकपको उपाधि सलहेस युथ क्लब सिराहालाई

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकपको उपाधि सिराहाको सलहेस युथ क्लबको पोल्टामा परेको छ । जितसँगै सलहेसले सात लाख दुई हजार ८३ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
आज सम्पन्न फाइनल खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सलहेसले उपाधिमाथि कब्जा जमाएको हो ।
उपविजेता बनेको फिदिमले तीन लाख ५२ हजार ८३ नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो ।

खेलको ६९औँ मिनेटमा सलहेसका फागुराम थारुले गरेको गोल नै उपाधिका लागि पर्याप्त बन्यो । मुसलधारे वर्षाका बिचमा भएको खेलको सुरुआती समयदेखि नै दुवै टिमबिच घम्साघम्सी भए पनि अन्ततः सलहेसले उपाधि हात पार्यो ।
विजेता र उपविजेता टिमलाई प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, कोशी प्रदेशका पूर्वमन्त्री खगेनसिंह हाङगाम, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायतले पुरस्कार वितरण गर्नुभयो ।
लाखे जात्राका अवसरमा भदौ १२ गतेदेखि सञ्चालित प्रतियोगितामा भारतको १ टिमसहितका ८ टिमले सहभागिता जनाएको आयोजक लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

ताप्लेजुङ सदरमुकामको भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन फुटबल प्रतियोगिता विसं २०२९ देखि हरेक वर्ष लाखे जात्राको अवसरमा सञ्चालन हुँदै आएको छ ।
जिल्लाको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास र इतिहासको निरन्तरताका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष मादेनले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्