फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
कास्की। पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जनाको जीवितै उद्धार गरिएको छ ।

आज बिहान करिब ४ बजेर ५० मिनेट जाँदा सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार गैरीचौतारा घुम्ती नजिक अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भारतको बिहार प्रदेशका २६ वर्षीय नवदीप कुमार यादवको मृत्यु भएको छ । आधार कार्डका आधारमा पहिचान खुलेको हो । साथै अन्दाजी ४० देखि ४५ वर्ष उमेरका अर्का एक पुरुषको पनि मृत्यु भएको छ । उनको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । चिकित्सकले बिहान ६ बजेर २१ मिनेटमा दुवै जनालाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवको भने सकुशल उद्धार गरिएको छ । उनीहरू दुवै भारतको बिहार राज्यस्थित रक्सौलका बासिन्दा हुन् । हाल उनीहरूको गण्डकी मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले तालको करिब २० फिट गहिराइबाट दुई जनालाई अचेत अवस्थामा बाहिर निकालेको थियो । दुर्घटनामा परेको कारलाई बिहान ६ बजेर २० मिनेटमा क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ ।








प्रतिक्रिया राख्नुहोस्