बैतडीमा जिप दुर्घटना,७ जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुधबार अपराह्न साढे ५ बजेको समयमा जिल्लाको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका हुन्।
जिल्लाको सतबाँजबाट रामकीबरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा जिपमा सवार ११ जनामध्ये सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा सुर्नया–२ का ६५ वर्षीय हजारी बिष्ट, सुर्नया–२ कै ३१ वर्षीया सुशीला भण्डारी र ७ वर्षीया दिप्ती बिष्ट, सुर्नया–६ रिगाकी २० वर्षीया दीपिका कुँवर, सुर्नया–५ स्वालीका ३० वर्षीय हरिश विक, ४३ वर्षीय तिलक चन्द र ३० वर्षीय दिपक चन्द रहेका छन् ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको र हजारी बिष्टको अवस्था मध्यम रहेको बताइएको छ।
जिप चालक सुर्नया गाउँपालिका–५ रौलेश्वरका २८ वर्षीय रोशन बिष्ट भने दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया राख्नुहोस्