क्षतिप्रति दुःख व्यक्त गर्दै प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ ।

बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख डोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार, घाइतेको उपचार तथा पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन समेत दिनुभयो ।
सभामुख अर्यालले जनवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति व्यहोर्दै आएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले स्पष्ट र बलियो आवाज उठाउनुपर्ने बताउनुभयो ।
यसअघि आजको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलका उपनेता गणेश पराजुलीले सङ्कटका बेला भएका कमजोरीलाई स्वीकार गर्दै सरकार नागरिकको जीवन रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो ।
विपद्को समयमा भएका कमी–कमजोरी लुकाउन खोज्दा भएका प्रयासहरूको समेत अवमूल्यन हुने उल्लेख गर्नुहुँदै उपनेता पराजुलीले आफूसँग भएका स्रोत साधनको परिचालन गरेर मात्र राज्यको जिम्मेवारी पूरा नहुने बताउनुभयो ।
उपनेता पराजुलीले आवश्यकता अनुसार विश्वविद्यालयका अनुसन्धानकर्ता, निजी क्षेत्र, नागरिक समाज र मित्र राष्ट्रहरूमा उपलब्ध विशेषज्ञ र प्रविधि तत्काल परिचालन गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
यस्तै बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भइरहेको ढिलाइ अमानवीय र गम्भीर कमजोरी भएको बताउनुभयो ।
नेता आङ्देम्बेले खोज तथा उद्धारमा सबैभन्दा खड्किएको विषय नै सुरुङभित्र फसेका नागरिकको उद्धार भएकोले यसमा हरसम्भव उपायहरू अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
विपद्मा आफूहरू सधैँ सरकारको साथमा रहेको उल्लेख गर्नुहुँदै नेता आङ्देम्बेले त्यसको अर्थ सरकारका गलत कामलाई पनि समर्थन गर्नु नभएको स्पष्ट पार्नुभयो ।
बैठकमा नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले सरकारले आफ्ना योजना र प्रगतिबारे संसद्लाई निरन्तर जानकारी गराउन माग गर्नुभयो ।
पार्टीका तर्फबाट विपद् व्यवस्थापनका लागि विभिन्न सुझाव पेश गर्नुहुँदै नेता थापाले प्रधानमन्त्रीले आफ्नो काम गर्ने एकाङ्गी शैली त्यागी संसद्प्रति पूर्ण उत्तरदायी बन्न र सङ्कटको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो ।
नेता थापाले सामूहिक शक्तिबाट मात्रै विपद्को सामना गर्न सकिने भएकाले सबैका सुझावलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपद्को सामना गर्न तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
संयोजक प्रचण्डले खोज तथा उद्धारका लागि सरकारले सेना परिचालन गरे पनि जन परिचालन गर्न नसकेको बताउनुभयो ।
बाढी प्रभावितको खोज तथा उद्धारमा सेनाले धेरै जोखिम उठाएर काम गरेको उल्लेख गर्नुहुँदै पूर्व प्रधानमन्त्री प्रचण्डले सबै तहका सरकारहरू बीचको समन्वयमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान खोज्न असम्भव हुने बताउनुभयो ।
नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बारे विगतका सरकारहरूले निरन्तर अन्तर्राष्ट्रिय समुदाय समक्ष राख्दै आएको स्मरण गर्नुहुँदै संयोजक प्रचण्डले हिमालय पर्वत शृङ्खलाको पग्लिने क्रम रोक्न नसके विश्वबाट मानव अस्तित्व नै सङ्कटमा पर्नसक्ने तर्फ विश्व समुदायको समयमै ध्यान पुग्नुपर्ने बताउनुभयो ।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बेपत्ता नागरिकको खोज, उद्धार र घाइतेहरूको उपचारमा विशेष ध्यान दिन सरकारसँग माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले विपद्को समयमा ज्यानको परवाह नगरी खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीको सेवा–सुविधा बढाउन माग गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्