तपाईँ सुन्दै हुनुहुन्छः

‘जनतालाई हिम्मत र आड–भरोसा दिनुपर्छ भन्ने दृढताका साथ सरकारले काम गरिरहेको छ’

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम–कारबाहीबारे जानकारी गराउनुभएको छ । 

सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड–भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको पिडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा बज्रपात भएको बताउनुभयो । 

नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदा सम्म निरन्तर रहने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीका कारण घरबार विहीन भएकाहरूको तत्काल अस्थायी र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

प्रधानमन्त्री शाहले पहिचान हुन नसकेका शवहरू कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पुरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको जानकारी दिनुहुँदै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको हुनाले पहिचान हुनासाथ परिवारलाई हस्तान्तरण गर्न सकिने बताउनुभयो । 

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् तथा सञ्चार सेवा सुचारु गर्न दोस्रो दिनदेखि नै काम भएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले हाल सम्म ९५ प्रतिशत क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएको बताउनुभयो । 

यसैगरी नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनर्स्थापना भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले भदौ १० गते घटनाको जानकारी प्राप्त हुनासाथ राज्यका सम्पूर्ण श्रोत–साधान प्रभावितको खोज, उद्धार, र राहत वितरणमा लागेको र पहिलो दिन नै १३ हजार ३ सय भन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित भएको सदनलाई जानकारी गराउनुभयो । 

भदौ १० गते बेलुका सम्ममा खोज र उद्धारका लागि विभिन्न ६९ उडान मार्फत ३ सय ५१ जना घाइते तथा अलपत्र परेका व्यक्तिहरूको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो । 

यस्तै पहिलो दिन नै प्रभावित क्षेत्रका ३ हजार ५ सय जनालाई सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था गर्नुका साथै ८ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराउनुभयो । 

घटनाको दिन देखी नै प्रभावित क्षेत्रमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सहयोग लिन प्रयास गरेको बताउनुहुँदै प्रधानमन्त्री शाहले त्यसका लागि प्रक्रिया समेत छोटो बनाएको र १० गते देखी नै चीन र भारत लगायतका देशबाट प्राविधिक जनशक्ति सहितको सहयोगका लागि प्रयास भएको सदनमा जानकारी गराउनुभयो । 

प्रधानमन्त्री शाहले रसुवा बाढीको मूल कारण जलवायु परिवर्तन र त्यसबाट सिर्जित ठूलो हिमपहिरो भएको हुनाले यसबाट नेपालले भोग्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसँग बलियो गरी प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तन विश्वव्यापी योगदान भएका कारण यसको असर न्यूनीकरण र व्यवस्थापन पनि विश्व समुदायको साझा जिम्मेवारी रहेको प्रधानमन्त्री शाहले बताउनुभयो ।

बाढीले भोटेकोशी र त्रिशूली करिडोरका जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पु¥याएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले विद्युत् उत्पादन गरिरहेका ८ वटा आयोजनामा २ सय ८१ मेगावाट र निर्माणाधीन ४ वटामा ३ सय ८८ मेगावाट क्षतिग्रस्त भएको र मर्मतका लागि ठूलो लगानी लाग्ने देखिएको बताउनुभयो ।

बाढीका कारण हाल ४ हजार ३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराउनुभयो ।

प्रधानमन्त्री शाहले अहिलेको विपद् पूर्वानुमान भन्दा बाहिरको भएको हुनाले खोजी तथा उद्धारमा समस्या देखिएको जानकारी गराउनुहुँदै विभिन्न जलविद्युत आयोजनाका सुरुङमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञहरू सहितको टोली परिचालन भइरहेको बताउनुभयो ।

हिलो र लेदोका कारण सुरुमा एक्स्काभेटर र हेलिकप्टर लगायतका उद्धार उपकरण लैजान नै समस्या भएकाले केही ढिलाइ भए पनि विचलित नभईकन काम गरिरहेको र काम गरिरहेकाहरूलाई प्रोत्साहन मिल्ने गरी सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

प्रधानमन्त्री शाहले हाल प्रधानमन्त्री विपद् राहत कोषमा ६ अर्ब ८८ लाख रुपैयाँ भन्दा बढी मौज्दात रहेको र अहिले थप ६१ लाख ४१ हजार अमेरिकी डलर भन्दा बढी रकम प्राप्त भएको सदनलाई जानकारी गराउनुभयो । 

नेपाललाई विपद् व्यवस्थापनमा चीन, भारत, पाकिस्तान, अमेरिका, जापान, बेलायत लगायतका मित्रराष्ट्र र एशियाली विकास बैङ्क, विश्व बैङ्क, यूरोपेली युनियन, संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट पनि सहयोग प्राप्त भइरहेको जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button