तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ गोल्डकप : सिराहाको सलहेस फाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेस युथ क्लब फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार सम्पन्न सेमिफाइनल चरणको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङलाई २–० गोल अन्तरले पाखा लगाउँदै सलहेस फाइनलमा पुगेको हो । खेलको मध्यान्तरसम्म दुवै टोलीले गोल गर्न सकेनन् ।

खेल सुरु भएको मध्यान्तरपछि भने खेलको ६२औँ मिनेटमा सलहेसका निसकुमार श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पुनः सलहेसका नै खेलाडी फागुराम थारूले ७२औँ मिनेटमा गोल गर्दै कालिम्पोङलाई स्तब्ध बनाए । आजको खेलको म्यान अफ द म्याच सलहेसका खेलाडी फागुराम थारू घोषित भएका छन् ।

बुधबार हुने सेमिफाइनलको अन्तिम खेल पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा–११ फुटबल क्लबबिच हुनेछ । 

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता भइरहेको छ । भदौ १९ गते सम्पन्न हुने प्रतियोगितामा विजेताले सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button