भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले रसुवा बाढी प्रभावितको उद्धार र राहतको कार्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै विशेष प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्तुत गर्नुभएको रसुवा बाढि विशेष प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
सभाले विशेष प्रस्तावमार्फत घाइतेहरूको निःशुल्क उपचार गराउन, वैज्ञानिक रुपमा शव व्यवस्थापन गर्न, साथै भौतिक संरचनाको पुनर्निर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न पनि आग्रह गरेको छ ।
यस्तै सभाले स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तर्राष्ट्रियलाई सहयोगका लागि अपिल सहित विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्व तयारीको काम अघि बढाउन पनि आग्रह गरेको हो ।
यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिमा सबै पक्ष एक हुन आग्रह गर्नुभयो ।
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सभामा पेश भएको छ ।
यसअघि राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय विपत्तिसँग जुध्न एकताबद्ध प्रयासको खाँचो रहेको भन्दै विनाशकारी भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनः स्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनुपर्नेमा जोड दिनुभएको छ ।
बैठकको शून्य समयमा सदस्यहरूले पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउन, पूर्व चेतावनीलाई कडाइका साथ कार्यान्वयन र विपद् उत्थानशील पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरुले बाढी पहिरोलगायत विपद्को पूर्व चेतावनीलाई बेवास्ता नगरी तत्काल कार्यमा परिणत गर्न, बाढीबाट प्रभावितलाई तत्काल पारदर्शी र एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले देशका जोखिमपूर्ण हिमतालका बारेमा तत्काल अध्ययन गर्न र विपद् उत्थानशील पूर्वाधार निर्माणको योजना बनाउन पनि सरकारलाई सुझाव दिनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ २३ गते मङ्गलवार दिनको १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्