भोटेकोशी बाढीका ७८ शव पोखरामा व्यवस्थापन
कास्की । चीनको तिब्बत क्षेत्रबाट भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ७८ वटा शव व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार ती शवहरू पोखरा महानगरपालिका–१६ दीपस्थित सिँचाइ डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो।
शव व्यवस्थापनअघि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पतालमा लामो समयसम्म शव राखिरहँदा थप समस्या उत्पन्न हुन सक्ने निष्कर्षका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो।

प्रशासनका अनुसार व्यवस्थापन गरिएका शवहरूलाई छुट्टाछुट्टै नम्बरिङ गरिएको छ। भविष्यमा आवश्यकता परेमा आफन्तजनलाई शव पहिचान गर्न तथा डीएनए परीक्षणका लागि सहज हुने गरी अभिलेखीकरण गरिएको जनाइएको छ।
बाढीमा परी ज्यान गुमाएका १ सय २ जनामध्ये हालसम्म १९ जनाको मात्र शव सनाखत भएको छ। पहिचान हुन नसकेका शवमध्ये केहीलाई आफन्तजनले आफ्नो हुनसक्ने भन्दै दाबी गरेकाले रोकिएको छ भने एक शव विदेशी नागरिकको हुनसक्ने आशङ्कामा अस्पतालको शव गृहमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
बाढीपछि तनहुँबाट २३, गोरखाबाट ११, गैँडाकोटबाट ४१ र धादिङबाट २७ वटा शव पोखरा ल्याइएको थियो।
शव पहिचानका लागि आउने परिवार तथा आफन्तजनलाई सहयोग पुर्याउन अस्पताल परिसरमा हेल्प डेस्क स्थापना गरिएको छ। हेल्प डेस्कमार्फत शवसम्बन्धी विवरण उपलब्ध गराउने तथा हस्तान्तरण प्रक्रियालाई व्यवस्थित बनाउने काम भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालले शवको पहिचान, परीक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन आफ्ना सबै संयन्त्र परिचालन गरिएको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्