माथिल्लो त्रिशूली-३ बीको सुरुङमा उद्धार कार्य तीव्र

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले आज पनि खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोली माथिल्लो त्रिशूली–३ बीको सुरुङ क्षेत्रमा पुगेर रेकी गरेको थियो।
चिनियाँ टोलीले सोही दिन रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको पनि रेकी गरेको थियो। दुवै आयोजनाको अवस्थाबारे जानकारी लिएपछि टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो।
भदौ १४ गते चिनियाँ टोली माथिल्लो त्रिशूली–१ मा उद्धार कार्यमा केन्द्रित भएको थियो। त्यसै दिन माथिल्लो त्रिशूली–३ बीमा नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धार सुरु गरेको थियो।
आज बिहान थप १६ जना सैनिक उद्धार टोलीमा सहभागी भएका छन्। उनीहरूले सुरुङ क्षेत्रमा खन्ने तथा खोजी गर्ने काम जारी राखेका छन्।
माथिल्लो त्रिशूली–३ बीको सुरुङमा केही मानिस फसेको आशङ्का गरिएको छ। उद्धार टोलीले उनीहरूको अवस्थाबारे यकिन गर्न खोजीलाई निरन्तरता दिएको छ।








प्रतिक्रिया राख्नुहोस्