तपाईँ सुन्दै हुनुहुन्छः

घाँस हरायो, सालको पात बन्यो सहारा : सीप छ, अवसर छैन

बाँके।बिहानको पाँच बज्दै थियो। नेपालगञ्जको मुटु मानिने त्रिभुवन चोकमा मानिसहरूको चहलपहल सुरु हुँदै थियो। कोही आफ्नो गन्तव्यतर्फ लाग्दै थिए भने कोही पसल खोल्ने तयारीमा थिए। त्यही भीडको एक छेउमा ६० वर्षीया चमारन केवट सालको पातका मुठा मिलाउँदै दुनाटपरी बनाउन व्यस्त हुनुहुन्थ्यो।

उमेरले ६० वर्ष पुग्न लागे पनि केवटको हातमा अझै पुर्ख्यौली सीप जीवित छ। यही सीपले उहाँको परिवारको चुलो बलिरहेको छ।

सालको पातबाट दुनाटपरी, टपरीलगायत सामग्री बनाउने सीप उहाँले कुनै तालिम केन्द्रबाट सिक्नुभएको होइन। यो पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पुर्ख्यौली ज्ञान हो।

नेपालगञ्ज उपमहानगरपालिका–८, महेन्द्र पार्कनजिकैको घसियारन टोलमा बस्दै आउनुभएकी केवट आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै हरेक बिहान सालको पात बोकेर त्रिभुवन चोक पुग्नुहुन्छ। उहाँसँगै टोलका अन्य महिलाहरू पनि पात तथा त्यसबाट बनेका सामग्री बिक्री गर्न चोकमा आउने गर्छन्।

“पहिला घाँस बेचेर बच्चाहरू हुर्काएँ,” केवटले भन्नुभयो, “अहिले घाँस बिक्री हुन छोडेपछि पात बेचेर गुजारा चलाउँदै आएका छौँ।”

उहाँका छोराहरू बिहान आमालाई पातको काममा सघाउँछन्। दिउँसो भने फर्निचरको काम गरेर परिवारको आम्दानीमा हातेमालो गर्छन्। तर आम्दानी नियमित नहुँदा दैनिक आवश्यकता पूरा गर्न अझै कठिन छ।

“उब्जनी गर्ने जग्गा छैन। पेट पाल्नका लागि मजदूरी गर्नैपर्छ,” उहाँले भन्नुभयो।

जंगलसम्म १६ किलोमिटर यात्रा, आम्दानी मुस्किलले चार सय

सालको पात बिक्री गर्ने महिलाहरूका लागि यो काम देखिएजस्तो सहज छैन। घरदेखि जंगलसम्म पुग्ने, पात टिप्ने र बोकेर फर्किने क्रममा उनीहरूले दैनिक लामो दूरी पार गर्नुपर्छ। कतिपय महिलाहरू १६ देखि १७ किलोमिटरसम्म पैदल हिँडेर जंगल पुग्छन् र पात बोकेर फर्किन्छन्।

त्यसमाथि पात टिप्न पनि उनीहरूलाई सहज छैन। आफ्नै वन नभएकाले अर्काको सामुदायिक वनमा लुकीलुकी पात टिप्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।

घसियारन टोलकै ४५ वर्षीया रेखा केवट पनि सालको पात बेचेरै परिवार चलाउँदै आउनुभएको छ। उहाँ शमशेरगञ्जबाट पात ल्याएर नेपालगञ्जमा बिक्री गर्नुहुन्छ।

“पात बिक्री भएपछि दिनमा तीनदेखि चार सय रुपैयाँसम्म आम्दानी हुन्छ,” रेखाले भन्नुभयो।

श्रीमान्को मृत्यु भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी आफूमाथि आएको उहाँले बताउनुभयो। पात बिक्रीबाट हुने आम्दानीले घरखर्च धान्नुपर्ने बाध्यता उहाँको छ।

“आफ्नो वन छैन। अर्काको सामुदायिक वनमा गएर लुकिलुकी पात टिप्नुपर्छ,” उहाँले भन्नुभयो, “वन हेरालुले भेटाए जरिवाना तिर्नुपर्छ। धेरै पटक लुकेर पात टिप्दा कारबाहीमा परेका छौँ।”

उहाँका अनुसार कहिलेकाहीँ जरिवानास्वरूप एक सयदेखि पाँच सय रुपैयाँसम्म तिर्नुपर्छ।

एक बिहानमा एक बोरा सालको पातबाट करिब चार सय रुपैयाँसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ। तर यही रकमबाट घरखर्च, बालबालिकाको पढाइ, बिरामी पर्दाको उपचार, चाडपर्व र पाहुनाको सत्कारसम्म गर्नुपर्ने भएकाले बचत गर्न नसकिएको उहाँको गुनासो छ।

“दिनको चार सय रुपैयाँ जति कमाइले सबै कुरा चलाउनुपर्छ। बचत गर्नै पाइँदैन,” रेखाले भन्नुभयो, “छोराछोरीको भविष्यका लागि थोरै भए पनि पैसा जम्मा गरौँ भन्ने रहर छ, तर त्यो रहरमै सीमित हुन्छ।”

संकटमा पुर्ख्यौली पेशा

कुनै समय घाँस बेचेर जीविकोपार्जन गर्ने घसियार समुदायका महिलाका लागि अहिले घाँस पाउनै कठिन भएको छ। सहर विस्तार, खुला जमिनको कमी र पशुपालनको स्वरूपमा आएको परिवर्तनसँगै उनीहरूको पुर्ख्यौली पेशा संकटमा परेको छ।

घाँस बिक्री हुन छोडेपछि उनीहरूले जंगलबाट सालको पात टिपेर ल्याउने र बिक्री गर्ने कामलाई वैकल्पिक जीविकोपार्जन बनाएका छन्।

त्रिभुवन चोकमा बिहानै करिब सात जना महिला सालको पात बिक्री गर्न आउने गर्छन्। उनीहरूले पातलाई मुठा बनाएर मात्र बेच्दैनन्। ग्राहकको मागअनुसार पातबाट दुनाटपरी, टपरीलगायत सामग्री पनि हातैले तयार पारेर बिक्री गर्छन्।

एउटा मुठा सालको पात करिब ३० रुपैयाँमा बिक्री हुने उनीहरू बताउँछन्।

वर्षायाममा जंगल गएर पात टिप्न कठिन हुने भएकाले केही महिना यो काम प्रभावित हुन्छ। वर्षा सकिएपछि भने त्रिभुवन चोकमा पुनः बिहानै सालको पातका मुठा देखिन थाल्छन्।

राज्यको नजरमा नपरेको श्रम र सीप

सालको पातबाट तयार हुने दुनाटपरी वातावरणमैत्री सामग्री हुन्। प्लास्टिक तथा अन्य कृत्रिम सामग्रीको प्रयोग घटाउने अभियानमा यस्ता स्थानीय उत्पादनको महत्वपूर्ण भूमिका हुन सक्छ।

तर यिनै सामग्री बनाउने महिलाहरू भने राज्यको प्राथमिकतामा पर्न सकेका छैनन्।स्थानीय स्रोतसाधनमा आधारित पुर्ख्यौली सीपलाई संरक्षण गर्दै व्यावसायिक बनाउन सकिने सम्भावना भए पनि उनीहरूका लागि न पर्याप्त तालिमको व्यवस्था छ, न बजारको सुनिश्चितता। न उनीहरूले सहज रूपमा कच्चा पदार्थ पाउने अवस्था छ, न उत्पादनको उचित मूल्य।

जंगलबाट पात ल्याउने क्रममा सामुदायिक वनसँगको समन्वयको अभावले उनीहरू थप समस्यामा पर्ने गरेका छन्। जीविकोपार्जनका लागि जंगलमा निर्भर समुदायलाई संरक्षण र उपयोगबीच सन्तुलन मिलाउने गरी राज्यले स्पष्ट नीति र व्यवहारिक व्यवस्था गर्नुपर्ने देखिन्छ।

उनीहरूको माग पनि ठूलो छैन। आफ्नो सीपलाई निरन्तरता दिन पाउने वातावरण, सहज रूपमा कच्चा पदार्थ पाउने व्यवस्था, उत्पादनको उचित मूल्य र सीपलाई आयआर्जनको भरपर्दो माध्यम बनाउन सहयोग पाए पुग्ने उनीहरूको भनाइ छ।

‘घाँस बेच्ने हातलाई सरकारले साथ दिए…’

चमारन केवटको उमेर बढेको छ, तर संघर्ष रोकिएको छैन। बिहान पाँच बजे त्रिभुवन चोकमा बसेर सालको पातबाट टपरी खुट्ने उहाँका हातमा अनुभव छ, सीप छ र मेहनत गर्ने आँट पनि छ। अभाव छ त केवल त्यस सीपलाई अवसरमा बदल्ने राज्यको साथको।

कुनै समय घाँसको भारी बोकेर बजार आउने उहाँजस्ता महिलाहरू आज सालको पातको भारी बोकेर सडकछेउमा बस्न बाध्य छन्। पुर्ख्यौली पेशा हराउँदै गएपछि उनीहरूले जीविकोपार्जनको अर्को बाटो खोजेका छन्। तर त्यो बाटो पनि निश्चित र सुरक्षित छैन।

त्रिभुवन चोकमा बिहानैदेखि बिक्रीका लागि राखिएका सालका पातका मुठा र हातैले बनाइएका दुनाटपरी केवल व्यापारका सामग्री होइनन्। ती मुठामा घसियारन महिलाहरूको पसिना, सीप, संघर्ष र बाँच्ने चाहना गाँसिएको छ।

राज्यले यस्ता सीप र श्रमलाई संरक्षण, प्रवर्द्धन र बजारसँग जोड्न सकेमा घसियारन महिलाको जीवनमा परिवर्तन आउन सक्छ। सालको पातबाट बनेको एउटा सामान्य टपरी उनीहरूका लागि केवल बिक्रीको वस्तु होइन, परिवारको चुलो बाल्ने माध्यम हो।

राज्यले सामुदायिक वनसँग समन्वय, सीप विकास, सहुलियतपूर्ण ऋण, उत्पादनको बजारीकरण र वातावरणमैत्री सामग्रीको प्रवर्द्धनमा ठोस कार्यक्रम ल्याउन सकेमा त्रिभुवन चोकमा पात बेच्ने यी हातहरू भविष्यमा आफ्नै सानो उद्यमका मालिक बन्न सक्छन्।

त्यस दिन सायद चमारन केवट पनि बिहान पाँच बजे सडकको छेउमा बसेर केवल गुजारा चलाउनका लागि होइन, आफ्नै सीपबाट भविष्य बनाउनका लागि टपरी खुटिरहनुभएको हुनेछ।

घाँस बेच्ने पुर्ख्यौली पेशा हराउँदै गएपछि पात बेचेर जीवन धानिरहेका चमारन र रेखाजस्ता महिलाको कथा एउटा परिवारको कथा मात्र होइन। यो बदलिँदो समाजमा सीमान्तकृत श्रमिक समुदायले भोगिरहेको जीविकोपार्जनको संकटको कथा पनि हो।

प्रश्न भने अझै उस्तै छ—पुर्ख्यौली सीप बोकेर सडकमा बसेका यी हातहरूलाई राज्यले कहिले समात्ने?

प्रतिक्रिया राख्नुहोस्

Back to top button