सशस्त्र द्वन्द्वमा बलपूर्वक बेपत्ता पारिएकाको स्थिति सार्वजनिक गर्न माग
सुर्खेत । सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको वास्तविक अवस्था सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन मानव अधिकारकर्मीहरूले माग गरेका छन् ।

अन्तर्राष्ट्रिय बेपत्ता दिवसको सन्दर्भमा नेपाल रेडक्रस सोसाईटी सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले द्वन्द्व कालमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरूको सास वा लासको अवस्था छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग राख्नुभयो । सत्यनिरुपण तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी आयोगका कामलाई प्रभावकारी बनाइनुपर्ने उहाँहरूको भनाई थियो ।
लामो समयदेखि मनोवैज्ञानिक र सामाजिक पीडामा रहेका पीडित परिवारलाई उचित परिपूरण, सम्मान र राहत प्रदान गर्न अरू ढिलाइ गर्नु नहुने नेपाल रेडक्रस सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यले बताउनुभयो ।
द्वन्द्वपीडित शान्ति ढकालले यतिका धेरै वर्ष बितिसक्दा समेत बेपत्ता भएका व्यक्तिको स्थिति के हो भनेर जानकारी गराउन नसक्नुले पीडाको घाउमा मलहमपट्टि लगाउनुको सट्टा नूनचुक छर्किएको अनुभूति हुने गरेको बताउनुभयो ।
कार्यक्रममा सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले बलपूर्वक बेपत्ता पारिने कार्य, ‘मानवता विरुद्ध’ को अक्षम्य अन्तर्राष्ट्रिय अपराध’ भएकाले बेपत्ता पारिएका नागरिकको खोजतलासमा सरकार अहिले पनि जुटिरहेको बताउनुभयो । उहाँले बेपत्ता पारिएका व्यक्तिका परिवारको भलाइका लागि गर्नुपर्ने नीतिगत सबै प्रकारका सहयोग गर्न आफु निरन्तर प्रयासरत रहेको जनाउनुभयो ।
कर्णालीमा राज्य र विद्रोही पक्षबाट १ सय ११ जना बेपत्ता पारिएका थिए ।







प्रतिक्रिया राख्नुहोस्