तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बाढी : पोखरा ल्याइएका ५७ शवको पोस्टमार्टम

कास्की । रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको आकस्मिक बाढीमा परी ज्यान गुमाएकामध्ये पोखरामा ५७ जनाको शव परीक्षण सम्पन्न भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार अस्पतालमा ल्याइएका शवमध्ये ४५ वटाको पोस्टमार्टम हुन बाँकी रहेको छ । भदौ ११ गतेदेखि विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी शव परीक्षण, पहिचान तथा व्यवस्थापनको काम भइरहेको अस्पतालले जनाएको छ ।

शव परीक्षण सम्पन्न भएका मृतकमध्ये हालसम्म १२ जनाको पहिचान खुलेपछि शव परिवार तथा आफन्तको जिम्मा लगाइएको छ । अन्य शवको पहिचान र हस्तान्तरण प्रक्रिया जारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

यसैबीच, पोस्टमार्टम सम्पन्न भएका थप ९ शव परिवारलाई बुझाउनका लागि मनिपाल शिक्षण अस्पताल पठाइएको छ । तीमध्ये २ जना बालबालिका र ७ जना वयस्क रहेका छन् ।

अस्पतालका अनुसार बाढीमा ज्यान गुमाएकाहरूको शव भदौ ११ गते बिहान विभिन्न समयमा अस्पताल पुगेका थिए । प्राप्त तथ्यांकअनुसार तनहुँबाट २३, गोरखाबाट ११, गैँडाकोटबाट ४१ र धादिङबाट २७ शव अस्पतालमा ल्याइएको थियो ।

शवको पहिचान गर्न आउने परिवार तथा आफन्तलाई सहयोग पुर्‍याउन अस्पताल परिसरमा हेल्प डेस्क स्थापना गरिएको छ । हेल्प डेस्कमार्फत शवसम्बन्धी विवरण उपलब्ध गराउने तथा हस्तान्तरण प्रक्रियालाई व्यवस्थित बनाउने काम भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले शवको पहिचान, परीक्षण र व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन आफ्ना सबै संयन्त्र परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button